गण्डकीः संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागङ्गोडा लाबेले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आज भएको भेटवार्तामा उनले यस प्रदेशका दुई लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युएनडिपीले सघाउने बताए । उनले गरिबीको रेखामुनि रहेका नागरिकलाई दैनिक कम्तीमा रु २०० आम्दानी गर्ने बनाउनुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मानव विकास सूचकाङ्कमा गण्डकीको अवस्था राम्रो भएको उल्लेख गर्दै उनले यहाँका असल अभ्यासलाई लुम्बिनी र कर्णाली प्रदेशमा पनि लागू गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री पोखरेलले युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताउँदै भने, “गण्डकी प्रदेशमा सम्भव भए क्षेत्रीय कार्यालय नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु, आवश्यक निर्णयका लागि डिआरआरसँग अनुरोध गर्दछु ।”
युएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्न इच्छा देखाएको परियोजनालाई छिट्टै पूर्णता दिने विश्वास व्यक्त गर्दै उनले नव प्रवद्र्र्धनका क्षेत्र, साना तथा मझौला उद्योगको विकास तथा कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीबाट सहयोग हुने आफूहरूको चाहना रहेको बताए ।
उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण, डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकासलगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताए ।
दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणमा युएनडिपीको सहयोग बढाउन आवश्यक देखेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए । दिगो विकास लक्ष्यको स्थानीयकरण, एकीकृत तथ्याङ्क विकास तथा अनुगमन प्रणाली तयार पार्न र अत्यावश्यक क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्न साझेदारको समन्वय युएनडिपीले गरिदेओस् भन्ने चाहना रहेको उनले बताए ।
आवासीय प्रतिनिधि आसायनीले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरू सघाउन तयार रहेको बताए । नेपाल आउनुअघि मोरक्कोमा रहेर काम गरेकी उहाँले उत्तर अफ्रिकाका मुलकबाट नेपालले सिक्नुपर्ने बताउँदै मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यासलाई अनुसरण गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाल र प्रदेश सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पर्यटन प्रवद्र्धन, नवप्रवद्र्धन, फोहर व्यवस्थापन, संसद् सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युएनडिपीले सघाउँदै आएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै आसायनीले पर्यटन क्षेत्रमा थप पाँच हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा छ हजार ५०० घण्टा काम दिलाउने लक्ष्य रहेको सुनाए । भेटघाटमा गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मी, योजना आयोगका उपाध्यक्ष डा. रघु काफ्ले, युएनडिपीको रिजनल अफिस बुटवलका प्रमुख सुदीप अर्याल सहभागी थिए । रासस