खलङ्गा : यसैबीच सडक सञ्जाल जोडिएसँगै जुम्लामा पछिल्लो समयमा लागुऔषध भित्रिएको छ । डेढ दशक पहिले यहाँका नागरिकले लागुऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् ।
ब्राउन सुगर के हो, कस्तो हुन्छ । यसले के प्रभाव पार्छ भन्ने जानकारीसमेत यहाँका कसैलाई थिएन । तर पछिल्लो समय जुम्लामा सडक सञ्जाल पुगेसँगै लागुऔषध कारोबार सुरु भएपछि आफ्ना बालबच्चालाई दुव्र्यसनबाट कसरी जोगाउन भन्ने चिन्ता अभिभावकमा थपिएको छ । नेपालगञ्जबाट कर्णाली राजमार्ग हुँदै जुम्लातर्फ मोटरसाइकलमा लागुऔषध ब्राउन सुगर बोकेर आउँदै गरेका दुई जना युवालाई अघिल्लो साता प्रहरीले पक्राउ गरेको थियो । लु७३प८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार जुम्ला पातारासी गाउँपालिका–६ का २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका– ६ का २४ वर्षीय सनीर श्रेष्ठलाई प्रहरीले प्रहरीले कालीकोटबाट पक्राउ गरेको थियो ।
विशेष सुराकीका आधारमा प्रहरी चौकी खल्लागाडले खानतलासी गर्दा मोटरसाइकलको ब्याट्री राख्ने ठाउँ र सिटमुनि लुकाएर राखेका अवस्थामा ब्राउन सुगर सात ग्राम इन्टरभेट–१० लेखिएको १२ पत्तामा १७५ ट्याब्लेट र ट्रामवाल लेखिएको २८ पत्तामा २८० ट्याब्लेट प्रहरीले बरामद गरेको थियो । कर्णाली राजमार्ग खुलेसँगै आएको ब्राउन सुगर यहाँको सहरबजारदेखि गाउँटोलसम्म पुगेको यो घटनाले देखाएको छ । सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला र मुगु कर्णाली राजमार्गको २०६२ मा ट्रयाक खुलेको हो । त्यसयता ब्राउन सुगर लागुऔषध भित्रिन थालेको प्रहरीको बुझाइ छ । कर्णाली राजमार्ग नखुल्नुअघि यहाँको एकमात्र यातायातको साधन हवाइजहाज थियो ।
हवाइजहाजबाट लागुऔषध जुम्ला भित्रन सक्दैनथ्यो । राजमार्ग खुलेपछि लागुऔषध जिल्लामा भित्रिन थालिन देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । पछिल्लो समय माथिल्लो कर्णालीका जुम्ला, मुगु, कालीकोटमा लागुऔषध सेवन बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्याङ्क हेर्दा लागुऔषध सेवन र कारोबार वृद्धि भएको देखिन्छ ।
तीन वर्षको अवधिमा प्रहरीले लागुऔषध ब्राउन सुगरसम्बन्धी १७ मुद्दा दर्ता र ४७ जनालाई पक्राउ गरी कारबाही गरेको छ । आव २०७५÷७६ मा पाँच वटा मुद्दामा १६ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।
आव २०७६÷७७ मा छ वटा मुद्दामा नौ जना पक्राउ परेका थिए भने आव २०७७÷७८ मा पाँच वटा मुद्दामा २० जनालाई पक्राउ गरी कारबाही गरेको प्रहरी तथ्याङ्क छ । आव २०७८÷७९ को दुई महिना साउन र भदौमा एउटा मुद्दामा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । रासस