गण्डकी : प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीयस्थल मानिएको बागलुङ कालिका मन्दिर छ महिना अघिदेखि आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि फाटफुट आन्तरिक पर्यटक आउन थालेका छन् । विश्वकै चर्चित पर्यटकीयस्थल ढोरपाटनमा शिकार खेल्नका लागि विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला सङ्ग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम सङ्ग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।
जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसायसमेत बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । “होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौँ । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ, कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन् । कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।
बागलुङ र पर्वत जिल्लाको बिचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा आउने पर्यटकसमेत आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । “थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ, होटलमा पाहुना आउन थालेका छन्, अब केही आशावादी भएका छौँ, खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौँ ।
पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धरासायीनै बनायो, अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ । पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरना पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढदै आएको छ ।
दर्शनार्थीलाई सामाजिक दूरी कायम गरी मन्दिर अवलकोन तथा दर्शन गर्ने व्यवस्था मिलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । रासस