चितवन: जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरेकी छन् ।
पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेख्नुभएको छ । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहनुभएका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानकारी दिए । उनले ‘चितवन दर्पण’ पुस्तक यहाँको ऐतिहासिक दस्तावेज भएको बताए । “विज्ञ लेखकले निकै मेहेनत गरेर लेख्नुभएको छ । पुस्तकबाट वर्तमान र भावी पुस्ताले जिल्लाका बारेमा धेरै जानकारी लिन सक्नेछन् ।” जिल्लाको यतिधेरै तथ्य तथ्याङ्कसहित ऐतिहासिक विषयवस्तु समेटिएर प्रकाशन गरिएको यो पुस्तक पहिलो भएको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले एउटै पुस्तकमा समग्र जिल्लाको जानकारी प्राप्त गर्न सकिने जानकारी दिए । उनले पुस्तकबाट चितवनका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिने जनाउँदै नयाँ पुस्ताले एउटै पुस्तकबाट धेरै विषय अध्ययन गर्न सक्ने बताए । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने उनको भनाइ छ । जिल्लाका विज्ञहरुलाई सहभागी गराएर पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको डल्लाकोटीले बताए । पुस्तक प्रकाशनका क्रममा विज्ञसहितको टोलीले चितवनका सात पालिकामा पुगेर तथ्य तथ्याङ्क सङ्कलन गरेको थियो ।
सो क्रममा सबै पालिकाका अग्रज तथा विज्ञहरुसँग आवश्यक जानकारी लिइएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदीले जानकारी दिए । उनले विज्ञहरुको एक वर्षको मेहेनतबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो । पुस्तकमा जिल्लाका ऐतिहासिक र परिकल्पना गरेका तस्वीरसमेत राखिएको छ । जिल्लाको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने अग्रजहरुको परिचय र योगदानसमेत पुस्तकमा समावेश गरिएको छ । पुस्तक प्रकाशनका क्रममा आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउनका लागि जिल्लावासीमा आह्वानसमेत गरिएको थियो ।
सामाजिक विकासमन्त्री सुवेदी संयोजक रहनुभएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदी, सदस्यमा प्रा डा देवीप्रसाद कँडेल, राजेन्द्र रेग्मी, रमाकान्त सापकोटा, इन्द्रप्रसाद लामिछाने, मुनाकुमारी श्रेष्ठ, डिआर पोखरेल, कपिल सुवेदी, डा इन्द्रविलास घिमिरे रहनुभएको छ । यस्तै जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति र सम्पादक सहयोग समितिका संयोजक नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, सदस्यमा पत्रकार दीपेन्द्र अधिकारी र कृष्ण आचार्य रहनुभएको छ ।
पुस्तकमा भाषा सम्पादनको काम प्रध्यापक कृष्णमणि पहारीले गर्नुभएको छ । पुस्तक प्रकाशनमा योगदान पु¥याउने सबैलाई पाँचौँ जिल्लासभामा सम्मानसमेत गरिएको छ । रासस