इनरुवाः जिल्ला समन्वय समिति सुनसरी तथा इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले जिल्ला अस्पताल सुधारका कार्यलाई प्राथमिकतामा राख्नका लागि निर्देशन दिए । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिको बैठकमा राजभण्डारीले अस्पतालभित्रको बेथिति अन्त्य गर्दै कानूनसम्मत अगाडि बढ्नका लागि अस्पतालमा कार्यरत कर्मचारीलाई उनले निर्देशन दिए ।
अस्पताल सुधारका विषयमा अगाडि बढाइएको प्रयास सार्वजनिक गर्दै समस्याका सवालमा छिटोभन्दा छिटो निष्कर्षमा पुग्नका लागि राजभण्डारीले निर्देशन दिए । रोकिएका र अघि बढ्न नसकेका पदपूर्तिलगायतका अन्य विषय र प्रक्रियासमेत न्यायोचित ढङ्गले अघि बढाउन उनले निर्देशन दिए ।
अस्पताल सुधार र गुणस्तरीय उपचार सेवा प्रवाहको विषयमा आफू लागिपरेको राजभण्डारीको भनाइ थियो । अस्पताल सुधारका लागि एक व्यक्ति मात्रको प्रयास सम्भव नहुने भएकाले सबै मिलेर अघि बढ्न आवश्यक रहेको उनले बताए । इनरुवा अस्पतालभित्र देखिँदै आएका र जेलिएका समस्या समाधानको प्रयास अविलम्ब अघि बढाउन आवश्यक रहेको व्यवस्थापन समितिले ठहर गरेको छ । एक साताभित्र ठोस उपलब्धि हात लाग्ने गरी कार्य अघि बढाउने विषयमा सहमतिसमेत भएको बैठकमा सहभागीले बताएका छन् ।
सोहीअनुरूप आवश्यक कर्मचारी भर्ना आह्वान गर्ने, सेवा, सुविधालगायतका विषय आपसी सहमतिमा टुङ्ग्याउने र समग्र अस्पताल सुधार तथा व्यवस्थापनका सवालमा काम अघि बढाउने अस्पताल व्यवस्थापन समितिका सदस्य रामप्रसाद मेहताले जानकारी दिए ।
यसैबीच इनरुवा अस्पताललाई सुधार गर्नका लागि माग गर्दै अस्पताल सुधार सङ्घर्ष समितिले आज दिउँसोदेखि पुनः धर्ना कार्यक्रम सुरु गरेको छ । चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउँदै आएको सङ्घर्ष समितिले माग सुनुवाइ नभएको भन्दै पुनः धर्ना सुरु गरेको हो । इनरुवा अस्पताल सुधारको मुख्य एजेण्डा राखी आन्दोलन चर्काउँदै आएको समितिले यसअघिका वाचा र सहमतिका बुँदा कार्यान्वयन नभएको भन्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिएको हो ।
धर्ना कार्यक्रम आफूहरुको रहर नभई अस्पताल सुधारका लागि भएकाले निरन्तरता दिइने सङ्घर्ष समितिका संयोजक दिलीप साहले बताए । अबको आन्दोलन निर्णायक हुने विश्वाससमेत उनले व्यक्त गरे । सङ्घर्ष समितिले मुख्य बजार क्षेत्रको सडकमा धर्ना दिएको थियो । साँघुरो सडकमा पाल टाँगेर धर्ना दिइएका कारण सो भेग भएर गुड्ने सवारी साधनका चालकले असहज महसुस गरेका थिए । रासस