काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ ।
विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताए । “हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो । त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ । उनले बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उन जेल बस्नुभएको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाइँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले बीपीको विचारमा चिन्तन र मलजल गरेको गृहजिल्ला झापामा आएर चुनावी अभियान थालेको बताए ।
नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्नुभएको छ । सो अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ । उनले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उनले बताए ।
सात सालदेखि अहिलेसम्म आउँदा मुलुकमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उनले नेता र दलहरुको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गरे । सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा मुलुकको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उहाँले जोड दिए । अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेता अलि कति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले केही नेताको यस्तै कमजोरीलाई औँल्याएर लोकतन्त्र नचाहने शक्ति गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्धृत रहेको बताए ।
मुलुकको रुपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आगामी महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताको शुभेच्छा र मत पाउनेमा आफू विश्वस्त रहेको बताए । रासस