लुम्बिनीः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यता तथा समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएकाले यसको सबैले आत्मसात गर्नुपर्ने बताए ।
उनले शुभकामना सन्देशमा आजको ऐतिहासिक दिनले प्रदेशवासी सम्पूर्ण नागरिकलगायत नेपालीबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्ने अपेक्षा व्यक्त गरे ।
यस्तै संविधान दिवस २०७८ कै अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज जारी गरेको शुभकामना सन्देशमा हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताए ।
उनले यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्नुपर्ने बताए । मुख्यमन्त्री केसीले संविधानमार्फत हामीले सङ्कल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्णपालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त रहेको उल्लेख गरें ।
शुभकामना सन्देशमा उहाँले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने उल्लेख गरे । यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीयतह गरी तीन तहको राज्य संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्थाअनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकारको उनले पूर्ण प्रतिबद्धता व्यक्त गरे । रासस