म्याग्दी : यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् ।
यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् । सेभेन समिट र पाइनर टे«कमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिनुभएका इन्द्रसिंह शेरचनले बताउनुभयो । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।
बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्”, शेरचनले भन्नुभयो, “हिमालयन र डोल्मा टे«कमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।” जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट टे«कबाट आएकी माया शेर्पाले बताउनुभयो । उहाँसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ । “धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन् ।
यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।” सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । त्रियासी वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आउनुभएको छ । उहाँले गत यामसहित ११औं पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गर्नुभएको थियो ।
पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो । चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर रु ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ । ]
शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस