पाँचथर : फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्यचौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत दुई वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
दरबन्दीअनुसारका स्वास्थ्यकर्मी गाउँमा नबस्ने तथा सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बन्द भएको हो । उक्त स्वास्थ्यचौकीमा चार वर्षअघि सेन्टर स्थापना गरिइएको थियो । अहिले प्रसूति हुने सबैलाई सदरमुकाम फिदिम पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । “गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ”, स्थानीयवासी तिलक तुम्रोक भन्नुभयो, “यसले कमजोर आर्थिक अवस्थाका स्थानीयवासीलाई समस्या पारेको छ ।
बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन आफूहरुले निरन्तर आवाज गर्दै आएको भए पनि सेवा सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ । यस्तै स्थानीयवासीले यहाँको बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको जनाउँदै विरोध जनाएका छन् । उनीहरुले जिल्लाका अन्य स्थानीय तहहरुले गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना गरिरहँदा सदरमुकामसमेत रहेको फिदिम नगरपालिका भने दुई वर्षदेखि सेन्टर बन्द हुँदा चुपचाप बसेको गुनासो गरे । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोक भने स्वास्थ्यचौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रबन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन भएको बताए ।
स्वास्थ्यचौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रूपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौँ । तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।” बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मीसमेत आवासको समस्या देखेर दुई साता नबित्दै काज सरुवा गरी गएको उनले बताए । फिदिम–६ का वडाध्यक्ष जरमान तुम्रोकका अनुसार ‘वान हर्ट’ नामक संस्थाको सहयोगमा चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिएको थियो । जनशक्ति अभाव हुँदा बर्थिङ सेन्टरबाट ‘भनेजस्तो’ सेवा प्रवाह हुन नसकेको तुम्रोकको भनाइ छ । “
दरबन्दीअनुसारका जनशक्ति पठाइदिन फिदिम नगरपालिकालाई भन्दै आएको छु”, उहाँले भन्नुभयो, “अस्ति विज्ञापन पनि भइसकेको छ । नगरपालिकाले परीक्षा गराएर पठाउने भनेको छ । त्यसपछि समस्या समाधान होला कि ।” सिवा स्वास्थ्यचौकीका प्रमुख हेल्थ असिस्टेण्ट ओमप्रकाश यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्यकर्मी २४सै घण्टा काममा खटिनुपर्छ । स्वास्थ्यचौकी वा नजिकै आवासको व्यवस्था नहुँदा रातको समयमा स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् ।
यहाँ स्वास्थ्यकर्मी खटाएपछि आवासको पनि व्यवस्था भएमात्रै सहजरूपमा सेवा प्रवाह गर्न सकिन्छ । अहिले स्वास्थ्यचौकीलाई नै भवन कम भइरहेको छ । नयाँ भवन बने सहज हुन्थ्यो भन्ने हाम्रो कुरा हो ।” उक्त स्वास्थ्यचौकीमा एसडिए तालिमप्राप्त एक अनमी र एक अहेब पद रिक्त छ । एसडिए तालिमप्राप्त एक अनमी यहाँ कार्यरत रहे पनि प्रसूति सेवा पुनः सञ्चालनमा ल्याएपछि उनी एक्लैले सेवालाई निरन्तरता दिन नसक्ने प्रमुख यादवले बताए ।
उनका अनुसार फिदिम नगरपालिका–६ सिवामा मासिक सरदर १३–१४ जना सुत्केरी हुने गर्दछन् । उनीहरु सबै फिदिम पुगेर प्रसूति सेवा लिन बाध्य छन् । रासस