चितवनः “छैन मेरो घरमा बिजुली र इन्टरनेट
कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।”
कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘कोभिडको महामारिमा बालबालिकाको अवस्था’ विषयक वक्तित्वकला प्रतियोगितामा सहभागी बालबालिकाले यसरी चिन्ता व्यक्त गरेका हुन् । विद्यालय बन्द हुँदा आफूहरुको भविष्य अन्धकार बन्न पुगेको उनीहरुको गुनासो थियो ।
कोभिड–१९ का कारण विगतका वर्षदेखि विद्यालय बन्द हुँदा बालबालिकाको बालापन त्याग र तपस्यामा बित्ने गरेको उनीहरुले गुनासो गरे । सरकारले स्माट लकडाउनमार्फत भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भन्दै गर्दा बालबालिकामा उत्साहासँगै त्रास छाएको छ । एसओएस हर्मन माइनर स्कुल भरतपुरकी छात्रा श्रेया सुवेदीले कोभिडका कारण मारमा परेका आफ्ना पीडा सुनाए :
“भर्खर जन्मिएका बच्चा जाँदै छन् रे धर्ती छोडी गगन्
मृत्युदर आजभन्दा भोलि बढ्दैछ रे झन झन
आत्तिन्छ झन पालो आज हो कि भोलि भन्दै यो मन
डर लाग्छ हजुर के थाहा बालापनमा नै सकिन्छ की जीवन ।।”
यस्ता मार्मिक भनाइ उनीहरुले बक्तित्वकलाको शुभारम्भमा पोखेका थिए । महामारीको चपेटामा परेका बालबालिका अहिले अध्ययनभन्दा बढी सामाजिक सञ्जालको दुरुपयोगमा लागेको सुवेदीले गुनासो गरे । अहिले बालबालिकाको अध्ययनमा भन्दा इन्टरनेटको सहायताले पब्जी र फ्रि फायरमा व्यस्त बन्न थालेको भन्दै उहाँले बालबालिकाको भविष्यप्रति सरकार चिन्तित बन्न आग्रह गरे । सरकारले बालबालिकाको अधिकारको रक्षा गर्दै कोभिडविरुद्धको खोप समयमा नै उपलब्ध गराउनुपर्ने उनले माग गरे । भौतिकरुपमा पढाइ सञ्चालन गर्नका लागि बालबालिकालाई खोप अत्यावश्यक रहेको सुवेदीको भनाइ थियो ।
जानकी माध्यमिक विद्यालयकी सुविना खनालले विद्यालय बन्द मात्रै नभएर घरबाट बाहिर निस्कनसमेत बन्द हुने अवस्था आएको बताए । कोरोना कहरका कारण स्वास्थ्यभन्दा ठूलो केही होइन भन्ने अनुभव भए पनि बालबालिका मानसिक रोगी बन्ने चिन्ता बढ्न थालेको उनले बताए । वक्तित्वकलाका क्रममा भने, “ज्ञान, सीप र क्षमताको विकास गर्ने समयमा चार दिवारभित्र थुनिनु परेको छ ।” कष्टकर समयमा बालबालिकाको मनोबल उच्च बनाई राख्न अभिभावकलाई उनले आग्रह गरे ।
अन्नपूर्ण मावि पार्वतीपुरका छात्र प्रितम बस्ताकोटीले अहिले आफ्नै साथीसँग भेट्न पनि कठिन स्थिति आएको गुनासो गरे । उनले भने, “पहिला चार जना साथी एउटै बेन्चमा बस्थ्यौँ । खाजा बाँढेर खान्थ्यौँ । अहिले साथीलाई छुन पनि डर लाग्छ ।” विद्युत् पुगेका, इन्टरनेटको पहुँचमा भएका आर्थिक अवस्था मजबुत भएका अभिभावकले त भर्चुअल माध्यमबाट पढाएका छन् । बस्ताकोटीले गुनासो गरे, “दूरदराजमा रहेका भुन्टे र च्यान्टेले यो सुविधा कहिले पाउलान ?” यस्ता हृदय छुने चौध जनाको पीडा सुनिसके पछि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बालबालिकाको अधिकारको रक्षाका लागि महानगरले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कोरोनाका कारण विद्यालय जान नपाएका बालबालिकालाई भर्चुअल माध्यमबाट पठनपाठन गराइएको भन्दै उनले अब केही दिनबाट नै भौतिकरुपमा उपस्थित भई कक्षा सुरु गरिने बताए । सबैको भावना सुन्दै गर्दा आफूलाई पीडाको बोध भएको भन्दै रोगकै कारण धेरै नोक्सानी बेहोर्नुपरेको बताए । अबका दिन सुखद् रहने अपेक्षासहित अध्ययनमा लाग्न उहाँले सबैलाई आग्रह गरे ।
अन्य कार्यक्रम भए पनि सबैलाई छोडेर सबैको भावना बुझ्न आफू दिनभरसँगै बसेको दाहालको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले भने, “तपाईँहरु सबैको पीडा बुझेका छौँ । बुझेर पनि तत्काल समाधान गर्न नसकिएको हो ।” सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगर शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले अब क्रमशः विद्यालय खुल्ने र भौतिकरुपमा पढ्न पाउने बताए ।
प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र प्रितम बस्ताकोटी प्रथम, एसओएस हर्मन माइनर स्कुलकी छात्रा श्रेया सुवेदी द्वितीय, अर्किट सेकेन्डरी स्कुलकी छात्रा स्वेता जमरकट्टेल तृतीय, र प्याराडाइज बोडिङ स्कुलका उत्सव दाहालले सान्तोना स्थान हासिल गर्नुभएको छ । विजयी विद्यार्थीले क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । रासस