बझाङः वल्र्डभिजन र प्रगतिशील युवासमाजका साझेदारीमा बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरेको छ । जयपृथ्वी नगरपालिकाका तीन वडाका बालबालिकालाई बिहीबार सामग्री प्रदान गरिएको हो ।
कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि विकट गाउँमा पठनपाठन ठप्प थियो । वैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेका नगरका वडा नं ६, ८, ११ मा स्वअध्ययन सामग्री वितरण गरेसँगै पठनपाठनको ढोका खुलेको छ । शिक्षक र अभिभावकबाट बालबालिकालाई अध्यापन गराउने शिक्षण विधि स्वअध्ययन शिक्षण सामग्री बिहीबारदेखि वितरण गर्ने कार्यक्रम शुरुवआत गरिएको छ ।
विषम परिस्थितिमा विद्यालय बन्द हुँदासमेत बालबालिकाको पढाइलाई निरन्तरता दिने उद्देश्यले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको हो । पहिलो चरणमा जयपृथ्वी नगरपालिका– ६, ८ र ११ मा वल्र्डभिजन र प्रगतिशील युवासमाजले अभियान सञ्चालन गरेका हुन् । जयपृथ्वी नगरपालिकाको उक्त वडामा रहेका बालबालिका तथा अविभावकलाई अविभावक सचेतना रेडियो कार्यक्रम सञ्चालन गरी कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई स्व–अध्ययन सामग्रीसमेत वितरण गर्ने अभियान शुरु गरिएको प्रगतिशील युवासमाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताए ।
साथै नगरपालिकाका तीन वटा वडाका ७४४ जना बालबालिकालाई उक्त सामग्री वितरण गरेको र अब जयपृथ्वी नगरपालिकामा दुई हजार बालबालिका र केदारस्युँ गाउँपालिकामा दुई हजार गरी चार हजार बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरिनेसमेत जोशीले बताए ।
नमूना विद्यालय
थलारा गाउँपालिका–५ मालुमेलामा रहेको चक्रेश्वर माध्यमिक विद्यालयलाई तिनतारे नमूना विद्यालय घोषणा गरिएको छ । विसं २०२१ मा स्थापना भएको विद्यालयले विभिन्न १० सूचक पूरा गरेपछि बिहीबार एक कार्यक्रमकाबीच तीनतारे नमूना विद्यालय घोषणा गरिएको हो ।
गाउँपालिकाअन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आरभिडब्लुआरएमपीको सहयोमा विद्यालयलाई तीनतारे नमूना विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टेकबहादुर खड्काले बताए ।
ग्रामीण जलस्रोत परियोजनाले नमूना विद्यालय घोषणा गर्नका लागि निर्धारण गरेका १० सूचकमा खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद् जोखिम व्यवस्थापनलगायतका सूचक पूरा गरेकाले विद्यालय नमूना घोषणा गरेको हो । बझाङ जिल्लाकै तेस्रो नमूना विद्यालयका रुपमा उक्त विद्यालयलाई तीनतारे नमूना विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गिरीले जानकारी दिए ।
जिल्लामा पहिलो तीनतारे विद्यालयमा भगवती आधारभूत विद्यालय थलारा–७ गोठीगाउँ चैत महिनामा नमूना घोषणा भएको थियो भने असार २८ गते छविसपाथिभेरा गाउँपालिका –१ को जनप्रिय माध्यमिक विद्यालय वगडगाउँ दोस्रो नमूना विद्यालय घोषणा भएको छ । चक्रेश्वर माध्यमिक विद्यालय तेस्रो नमूना विद्यालय घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा प्रमख जिल्ला अधिकारी मोहन अधिकारी र जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले विद्यालयको भौतिक तथा शैक्षिक सुधार सहयोग गर्ने जानकारी दिए। रासस