काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार बहुमत गुमाएको छ । संसदमा बहुमतका लागि १३६ सांसदको समर्थन चाहिनेमा ओलीलाइ ९३ सांसदले मात्रै विश्वासको मत दिए । १२४ जना सांसद विपक्षमा उभिएपछि ओलीको झण्डै तीन वर्ष लामो स्वेच्छाचारी शासन समाप्त भएको छ ।
यद्यपी राष्ट्रपतिले बहुमतको सरकार गठन गरेकी छिन् । बहुमतको सरकार गठन भएपछि ओली शासनको औचारिक अवसान हुनेछ । नेपालमा दम्भी, तानाशाही र मनपरी गर्ने ओलीको सरकार ढलेसँगै धेरैले खुशी मनाएका छन् ।
अमेरिकामा ट्रम्प, भारतमा मोदीसँग तुलना गरिने ओलीले आफ्नो शासनकालमा नेपाली जनताका लागि खास ठूलो काम गरेनन् । राम्रा भन्दा आफ्ना र गुटका मान्छेलाई च्यापेर शासन गर्न रुचाउने ओली जनताका लागि प्रिय नेता भएनन् । दम्भी, अंहकारी, स्वेच्छाचारी शासकका रुपमा चित्रित भए ।
तत्कालिन माओवादी र एमाले मिलेर बनेको नेकपाले नेपालमा ऐतिहासिक रुपमा झण्डै दुई तिहाई बहुमत पायो । यो नेपालको दूर्लभ इतिहास हो । माओवादीसँग मिलेपछि एमाले नेपालको सबैभन्दा ठूलो पार्टी बन्यो ।
प्रचण्डको साथ पाएर ओली नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । माओवादी र एमाले मिलेर नेकपा बनाएर ओली र प्रचण्डले लामो समय शासन गर्ने अवसर पाए । तर आफू शक्तिमा छँदा अरुलाई आफ्नो कार्यकर्ता भन्न पनि नरुचाउने ओलीको शैलीले गर्दा नेकपा फुटेन मात्रै नेपालको इतिहासमा कमजोर पार्टीगत पद्धति भन्ने सतहमा देखियो ।
प्रचण्डले प्रस्ताव गरेर दुईतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले अहिले प्रचण्डलाई मात्रै भुलेनन्, आफ्नै पार्टीका नेता माधव नेपाल र भीम रावललाई कारबाही गरेर दम्भी शासनको ज्वलन्त उदाहरण दिए ।
यसबीचमा सगरमाथाको नयाँ उचाई, लिम्पियाधुरासहितको नयाँ नक्सा, विभिन्न पूर्वाधारको विकास र शिलान्यास ओलीका लागि ऐतिहासक काम होलान् । तर एउटा नेतामा हुनुपर्ने चरित्र नहुँदा ओलीको शक्तिशाली शासन टुहुरो बन्न पुग्यो । अन्ततः धरहराकै उचाईमा रहेको अंहकार शासक गल्र्याम्म ढल्यो ।
२०७३ सालमा पनि ओलीलाई प्रचण्डले प्रधानमन्त्री बनाएका थिए । अहिले २०७८ सालमा पनि प्रचण्डले नै प्रधानमन्त्री बनाउँदा उनैले अविश्वासको मत दिएर सरकार ढाल्नुपर्यो । ओलीका लागि यो सत्ताको भोक मात्रै होइन, आफू बाहेक अर्को सत्तामा जानै हुदैन भन्ने चरित्र हावी भएको देखिन्छ । जसले ओलीलाई ऐतिहासिक अवसर दिएपनि जनताको हातमा शून्य हात लाग्यो । यो नेपालकै इतिहासमा दुःखद घटना हो । कम्युनिष्टका लागि त झन् लज्जाको विषय हो ।