काठमाडौँ : यतिबेला देशको राजनीति उथलपुथलउन्मुख छ । देशमा जे जस्तो भएपनि यतिबेला कोरोना महामारी जताततै छ । कोरोनाले जनताको ज्यान दैनिक लिइरहेको छ । पछिल्लो अवस्था हेर्दा दैनिक एक सय जना संक्रमितको ज्यान गइरहेको छ ।
हजारौ संक्रमित भइरहेका छन् । कर्णालीमा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ । यस्तो बेला पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्मा आफ्नो जिल्ला पुगेर कोरोनाविरुद्ध लड्नका लागि जनतालाई उत्साह थपिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, जनसरोकारवालालाई बोलाएर उनलाई कोरोनायुद्ध लड्न सिकाइरहेका छन् । यस्तो संकटको बेला कसरी काम गर्ने भनेर अन्यौलमा परेका जिल्लाका सरोकारवालालाई आफ्नै अभिभावकत्व दिइरहेका छन् ।
जनयुद्धमा जसरी जनार्दन अग्रमोर्चामा रहेर लडाईको रणनीति बनाउँथे । अहिले त्यसरी नै कोरोना महामारीविरुद्ध जनतालाई बचाउन जनताको बीचमा उभिएर पूर्व तयारी गरिरहेका छन् । प्रत्यक्ष रुपमा आफैले नेता, कार्यकर्ता, कर्मचारी सबैलाई परिचालन गरेर अस्पतालदेखि अक्सिजनसम्मको जोहो गरिरहेका छन् ।

यो हेर्दा साच्चै लाग्छ, जनार्दन जनताका नेता हुन् । उनी जनताका लागि सबथोक गरिरहेका छन् । यस्तो भयावह बेला उनी कोरोनालाई कसरी पराजित गर्न सकिन्छ ? भनेर सिकाईरहेका छन् । आखिरमा यो ठूलो कुरा हो ।
कर्णालीका गरीब जनताका लागि उनी मार्गनिर्देशक नेता हुन् । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका जनार्दन यतिबेला रुकुमबाट सारा कर्णालीलाई कोरोनाविरुद्धको पूर्वतयारी सिकाईरहेका छन् ।
तर कर्णालीका अरु सांसदले यसलाई पछ्याएको देखिदैन् । राष्ट्रिय राजनीतिमा सधै व्यस्त र महत्वपूर्ण रहने नेता जनार्दन यतिबेला जनताको घरदैलोमा पुगेर महामारीमा जनताको साथमा उभिएका छन् ।

उनी कुनै भिजनलेस नेताका रुपमा होइन, हातमा कापी, कलम र स्पष्ट योजना बोकेर उनी जनताको सेवामा लागेका छन् । कर्मचारीलाई स्पष्ट निर्देशन दिन लागिरहेका छन् ।
कर्णालीका सांसद किन सिक्दैनन् ?
जनार्दन यतिबेला काठमाडौँबाट गएर रुकुमका जनतालाई ढाडस दिइरहेका छन् । यो उनको सफलता हो । यो उनको मार्गनिर्देशन हो । तर यस्तो बेला कर्णालीमै रहेका सांसदले भने कुनै काम गरेका छैनन् । उनीहरु जनताको घरदैलोमा पुगेका छैनन् ।
उनीहरु आफ्नै घरमा सिमित छन् । जनताको घरदैलोमा पुग्न डराइरहेका छन् । यस्तो बेला जनताको घरदैलोमा पुग्नुपर्ने नेताहरु किन डराइरहेका छन् ? जनार्दनबाट सिक्न किन हच्किएका छन् ? जनतालाई बचाउनुपर्ने बेलामा किन हारिरहेका छन् ? किन भागिरहेका छन् ? अबको चुनावमा जनताले यसको हिसाबकिताब खोज्न सक्छन् ।

साच्चै नेता जन्मिने भनेको संकटमा हो । जनता संकटमा परेका बेला नेता जन्मिन्छ । नेतृत्व दिन्छ । जनतालाई अभिभावकत्व दिन तयार हुन्छ । आफ्ना खुशी छाड्छ । जनताको खुशी रोज्छ । जनताको लागि व्यक्तिगत सबै योजना तय गर्छ । सारा जनताका लागि भलाईको काम गर्छ ।
तर यस्तो बेला डराउने नेता नेता हुन सक्दैन् । त्यो सांसद हुन सक्दैन् । त्यस्तो नेताले नेतृत्व दिन सक्दैन् । जनताको विश्वास जित्न सक्दैन् । जनताको भरोसा र विश्वास जित्न नसक्ने नेता कसरी नेता रहन सक्छ ? कर्णालीका नेताले यसलाई नजिकबाट नियाल्न जरुरी छ ।
कहाँ निदाइरहेको छ, कर्णाली प्रदेश सरकार ?
यतिबेला कर्णालीमा माओवादी केन्द्रको सरकार छ । महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । माओवादी नेता कार्यकर्ताको बाहुल्यता छ । तर पनि उनीहरु यतिबेला तर्सिरहेका छन् । सरकार अनेक निर्णय गर्छ । तर कार्यान्वयन गर्न डराउँछ ।
संकटको बेलामा सरकार जनताको बीचमा उभिन सक्दैन् । आफ्ना नेता र मन्त्रीलाई परिचालन गर्न सक्दैन् । नेपालकै सबैभन्दा विकट कर्णाली प्रदेश सरकार भएपनि सुर्खेतमा सिमित देखिन्छ । कर्णालीमा पर्याप्त पूर्वतयारी देखिदैन् । मुख्यमन्त्री स्वयंम सुर्खेतमा निदाएको देखिन्छन् ।
उनी आफ्नो जिल्लामा जान सकिरहेका छैनन् । मन्त्रीलाई आफ्नो जिल्लामा पठाउन सकिरहेका छैनन् । साच्चै यो विषय कर्णाली प्रदेश सरकारका लागि लज्जाको विषय हो । जब कर्णालीकै जनताबाट सरकारले विश्वास पाउँदैन् ।
आफ्ना कमाण्डर जनार्दनबाट सरकारले कुनै सुझाव लिन सक्दैन् । सुझाव ग्रहण गर्दैन् । यस्तो बेला कर्णाली प्रदेश सरकार भिजनलेस देखिन्छ । योजनाविहिन देखिन्छ । यस्तो महामारीमा पनि आफ्नो संयन्त्र परिचालन गर्न चुकेको देखिन्छ ।
यो कर्णाली प्रदेश सरकारका लागि लज्जाको विषय हो । अब जनार्दन आफैले पनि आफ्नो पार्टीको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई सही काममा जनताको घरदैलोमा जानका लागि निर्देशन दिनुपर्ने अवस्था आएको छ ।