जुम्ला। जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका करिब नौ हजार घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
जिल्लाको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका ९ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ललित मण्डलले जानकारी दिए ।
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ ।
तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख मण्डलको भनाइ छ ।
जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार भइरहेको छ । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिका–१ र २ विद्युत्को लाइन विस्तार गर्नेका लागि अहिले काम भइरहेको विद्युत् वितरण केन्द्रका प्रमुख मण्डलले बताए ।
भौगोलिक रूपमा विकट मानिने पातारासी गाउँपालिका सबैवडामा लघुजलविद्युत्को घरघरमा बत्ती बलेका छन् । ती घरमा पनि चाँडै राष्ट्रिय लाइन जडान गरिने तयारी भइरहेको छ । यहाँका केही गाउँबस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको छ । बाँकी रहेका घरधुरीमा पनि विद्युत् विस्तार गरिने विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख मण्डलले जानकारी दिए ।
विद्युत् विस्तारसँगै वर्षौंदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका यहाँका स्थानीयले सहजता अनुभव गरेका छन् । “अब अँध्यारो हटेको छ”, तिला–१ का स्थानीय उपराज रावतले भने “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।” अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने रावतको भनाइ छ ।
जिल्लामा कूल जनसङ्ख्याको हालसम्म ५५ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।