कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नवौँ प्रदेशसभामा उहाँले कर्णालीमा प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको बताए।
मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि, पर्यटन, जलस्रोत क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने तर्क गरे। “यस प्रदेशमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न सकिएको छैन”, उनले भने, “निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ ।
यद्यपि, परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ। त्यसका लागि सरकारले सहजीकरण गर्छ ।”
मुख्यमन्त्री कँडेलले लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको बताए। उनले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कँडेलल विकास एक्लैले सम्भव नहुने भएकाले सबै क्षेत्रको सहकार्यबाट कर्णालीलाई समृद्ध बनाउन लाग्नुपर्ने बताए।