काठमाडौँ। खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिएका छन् ।
विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा. मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताए ।
उनले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकाले छोरीहरुको पढाइ र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताए । उनले पानी सङ्कलनका क्रममा महिलाहरुले हिंसा पनि सहनु परेको उल्लेख गर्दै भने, “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछूतको विभेद भनिसाध्य छैन् ।”
खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको बाधक भएको बताइन् । उनले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक–सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताइन् ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा. कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताए ।
पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग, पेसा, समुदाय र उमेर समूहका नागरिकका लागि सुख तथा समृद्धिको माध्यम र परिचायक भएको बताए । “जसकहाँ पानी बढी छ, त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, उनले भने । उनले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्य र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गरे ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीतिनिर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आ–आफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताएका थिए ।