कर्णाली। कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६ बुँदे संकल्पपत्र पारित गरिएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको शुक्रबार बसेको छैटौँ बैठकबाट उक्त संकल्पपत्र पारित गरिएको हो ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारेको छ बुँदे संकल्पपत्र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा प्रस्तुत गरेका थिए ।
उक्त संकल्पपत्रमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाइ, उर्मिला विश्वकर्माले ढिलो भएपनि राम्रो कामको सुरुवात भएको र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संकल्प प्रस्तावमा उठेका विषयमा जवाफ दिएका थिए । मन्त्री अधिकारीले जवाफ दिएसँगै उक्त संकल्प पत्र सर्वसहमतिले पारित भएको थियो ।
त्यस्तै, बैठकको आकस्मिक समयमा भाग लिँदै प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले दशवटै जिल्लाको अभिभावकीय भूमिका खेल्न नसकेको बताए । प्रदेश सरकारका काम कारवाहीले नै प्रदेश खारेजको प्रश्न उठेको उनले टिप्पणी गरे ।
बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयका विषयमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । उनले सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको बताए ।
त्यसैगरी, मन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस भनि सभामा राखेको प्रस्ताव पनि सर्वसहमतिले पारित भएको थियो । उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाइ, जीतबहादुर मल्लले भाग लिएका थिए । यसमा मन्त्री भण्डारीले जवाफ दिएका थिए ।