काठमाडाैँ। अफगान सरकारले काबुलको एक सुधार गृहमा पाकिस्तानले गरेको आक्रमणमा सयौं व्यक्तिको मृत्यु भएको बताएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार छिटो र स्वतन्त्र छानबिनको माग गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा पत्रकारहरूसँग भने, “हिजो राति काबुलको सुधार केन्द्रमा भएको त्रासदीपूर्ण विस्फोटको तत्काल स्वतन्त्र र पारदर्शी ढङ्गले अनुसन्धान गरिनुपर्छ ।”
उनले जिम्मेवारहरूलाई ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप जवाफदेही’ बनाउन आह्वान गर्नुभयो र कुनै पनि अनुसन्धानको नतिजा ‘सार्वजनिक गरिनुपर्ने’ मा जोड दिए। उनले भने, “पीडित र उनीहरूका परिवारलाई परिपूरणको अधिकार छ ।”
अफगानिस्तानको राजधानी काबुलमा रहेको लागूऔषध सुधार केन्द्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार सय जनाको मृत्यु भएको अफगान सरकारले मङ्गलबार जनाएको छ ।
सोमबार राति गाँजा, ‘एम्फेटामाइन’ र अन्य लागूपदार्थको लत लागेका देशभरका मानिसहरूलाई उपचार गर्न प्रयोग गरिने सुधार गृहका भवनहरू भत्किँदा सयौँ घाइते भएको बताइएको छ ।
मृतकको सङ्ख्याको तत्काल स्वतन्त्र प्रमाणीकरण हुन सकेको छैन, तर एएफपीका पत्रकारहरूले सोमबार राति घटनास्थलबाट कम्तीमा ३० जनाको शव र मङ्गलबार ६५ भन्दा बढीलाई निकालिएको देखेको बताएका थिए।
युद्धविरामको माग
तालिबान सरकारले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप पाकिस्तानमाथि लगाएको छ तर पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले आफ्नो सरकारले जानाजानी काबुलको सुधार गृहलाई निशाना बनाएको दाबी ‘पूर्णतया आधारहीन’ भएको बताए।
दुई पक्ष महिनौँदेखि द्वन्द्वमा छन् । इस्लामाबादले आफ्नो भूमिमा घातक सीमापार आक्रमण गरेका इस्लामिक अतिवादीहरूलाई आश्रय दिएको काबुलमाथि आरोप लगाएको छ।
गत महिनाको अन्त्यमा द्वन्द्व बढेपछि अल–खितानले भने, “आक्रमणमा १०४ बालबालिका र ५९ महिलासहित २८९ अफगान नागरिक हताहत भएका छन् भने दशौँ हजार विस्थापित भएका छन्।” हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको अफगानी सञ्चारमाध्यमले जनाएका छन्।
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग (युनामा) ले सुधार गृहमा आक्रमण हुनुअघि फेब्रुअरी २६ देखि सोमबारसम्म अफगानिस्तानमा कम्तीमा ७६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको मङ्गलबार जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले पनि ‘तत्काल युद्धविराम’ गर्न आह्वान गरेका छन्। अल–खितानले भने, “अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत नागरिक र गैर–सैनिक वस्तुहरूको कडाईका साथ संरक्षण गरिन्छ।”
“युद्धको कानूनले स्पष्ट रूपमा कुनै पनि आक्रमणको भिन्नता, समानुपातिक र सावधानीको आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्दछ,” उनले भने, “अन्तर्राष्ट्रिय मानवीय कानूनले चिकित्सा सुविधाहरूको लागि विशिष्ट र अधिक सुरक्षा प्रदान गर्दछ।”
यसैबिच, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले एक्समा भेका छन्, “फेब्रुअरीको अन्त्यदेखि बढ्दो शत्रुताको कारण ‘अफगानिस्तानमा कम्तिमा छ स्वास्थ्य निकायहरू प्रभावित भएका छन्।”
उन भने, “संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले यस्ता घटनाको पुष्टि गर्न काम गरिरहेको छ ।” टेड्रोसले भने, “म सबै पक्षलाई तनाव कम गर्न र शान्ति र स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दछु ।”