काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिग फुटबलमा काँकेविहार यूथ क्लब र टाइगर्स टिमले जित निकालेका छन्।
मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार यूथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो । काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र अनीश घर्ती क्षेत्रीले गोल गरे । हैरान्सका लागि समराज थोकर र विश्व लामाले गोल गरे ।
विजयी टोलीका रोहन कार्की सो खेलको म्यान अफ द म्याच घोषित भए । टाइगर्स टिमले गाईघाटलाई २–१ ले हरायो । विजयी टोलीका सुजन लामा र आशिष् श्रेष्ठले गोल गरे । गाईघाटका युगन राईले गोल गरे । टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।