सुर्खेत। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणअन्तर्गतको ट्रफी यात्रा कर्णाली प्रदेशमा आइपुगेको छ। कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.ले कर्णाली प्रदेश क्रिकेट संघको सहकार्यमा प्रदेशका विभिन्न सहर र धार्मिक स्थलमा ट्रफी यात्रा सुरु गरेको हो।
कर्णालीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य काँक्रेविहारमा ट्रफी अनावरण गरिएको छ। उक्त समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरे।
मन्त्री भण्डारीले पछिल्लो समय कर्णालीमा क्रिकेटको विकासले गति लिएको उल्लेख गर्दै प्रदेश सरकारले खेल पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताए।
उनले भने, “कर्णालीमा क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ। हामीले त्यसको स्थायित्वका लागि पूर्वाधार निर्माणमा विशेष ध्यान दिएका छौँ।”
त्यस्तै, मन्त्री शाहले क्रिकेटले विश्वस्तरमा ठूलो उपलब्धि हासिल गरिरहेको बताउँदै खेलाडी उत्पादन र पूर्वाधार विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए।
यसअघि ट्रफी सुर्खेतको छिन्चु र सल्यानको कुपिण्डे दह हुँदै खलङ्गा बजार पुगिसकेको थियो।
पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि टोलीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकका रूपमा निरन्तरता दिएको छ भने राजु बस्नेत कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा रहनेछन्।
कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनमार्फत पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे टोलीमा समावेश भएका छन्।