काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका बलर नन्दव यादव महँगा सावित भए ।
अमेरिकालाई १२ बलमा १६ रनको आवश्यक थियो । यादवले दुई वाइडसहित दुई छक्का खाए । यस्तै, तीन रन खर्चिएपछि अमेरिकाले खेल जित्न अन्तिम ओभर कुर्नुपरेन ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लले ७५, मिलिन्द कुमारले ७० रनको योगदान दिए । यस्तै, शयान जहांगिरले ३६, मोनांक पटेलले २१ रन जोड्दा शुभम रन्जानेले १९ रन बनाए । यसैगरी सन्जय कृष्णमुर्ती १५ तथा हरमित सिंह १३ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट लिए ।
त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै, करण केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए ।
बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई–दुई तथा जसदिप सिंह र शुभम रन्जानेले एक–एक विकेट लिए ।
जारी शृङ्खलामा नेपालको यो तेस्रो पराजय हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो ।