काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग-२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो।
नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ।
लिग-२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म युएईमा हुँदैछन्।
नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ।
शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको तय गरेको नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।
विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।
२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलसन कुमार झा र साहब आलम रहेका छन् ।