काठमाडौं। निर्देशक चन्द्र पन्त निर्देशित नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ तिहारको लक्ष्मीपूजाको अवसरमा नयाँ पोस्टरसहित माघ १६ गते प्रदर्शन हुने घोषणा गरिएको छ।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिन्छन्, जसले बुबा–आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध झल्काउँछ। संवाद ‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ ले फिल्मको ग्रामीण परिवेश र पारिवारिक यथार्थ प्रतिनिधित्व गर्छ।
आर्या पन्तको प्रस्तुतिमा बनेको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त लगायत कलाकारको अभिनय छ। चन्द्र पन्तले फिल्मको कथा, पटकथा र निर्देशन सम्हालेका छन्।
फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्।
फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्। विदेश प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्टले अस्ट्रेलिया र न्युजिल्याण्डका लागि लिएको छ भने नेपालमा आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएका छन्।