काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ आगामी १ माघमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले नयाँ रिलिज मिति घोषणा गर्दै सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड आकर्षक पोस्टर सार्वजनिक गरेको छ।
पोस्टरमा उल्लेख गरिएको वाक्य ‘बतासले उडाई लग्यो माया मेरो’ ले फिल्ममा दुई पात्रबीचको प्रेमकथा र भावनात्मक सम्बन्ध झल्काउँछ। सोही शीर्षकको गीत आगामी सोमबार सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।
फिल्मका निर्देशक अमित श्रेष्ठ का अनुसार, ‘भाइरल गोर्खे’ ले सामाजिक सञ्जालमा भाइरल हुने संस्कृतिलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्नेछ। उनका शब्दमा, “फिल्म समसामयिक विषयमा आधारित भएकाले दर्शकले सजिलै आफैंसँग सम्बन्धित महसुस गर्नेछन्।”
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त ब्यानरमा बनेको यो फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको पनि अभिनय देख्न सकिनेछ।
फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताका रूपमा छन्।
निर्माण टोलीका अनुसार, मनोरञ्जन र सामाजिक सन्देश दुबै समेटिएको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।