सुर्खेत। जुम्लाबाट चालु सिजनमा भदौ र असोज महिनामा मात्र ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार, यो आँकडा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष यही अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भएकोमा यस वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा सीमित भएको छ ।
गत वर्ष जुम्लाले कुल ६१ करोड रुपैयाँभन्दा बढीको स्याउ निर्यात गरेको थियो । यस वर्ष असिना र वर्षाका कारण उत्पादन घटेको कार्यालयको निष्कर्ष छ । यसबाट १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । हालसम्म १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ भने कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँ बराबरको स्याउ निर्यात हुने अपेक्षा गरिएको छ ।
यद्यपि, स्याउको मूल्यमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन ६५ हजार ४०० रुपैयाँमा बिक्री भएको स्याउ यस वर्ष ७० हजार रुपैयाँमा पुगेको छ । यसले किसानलाई केही राहत मिलेको कृषि कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले बताए ।
जुम्लामा स्याउ खेतीको क्षेत्रफल पनि विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्षमा स्याउ खेती ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ । जिल्लाका ७७ प्रतिशतभन्दा बढी घरधुरी स्याउ खेतीमा संलग्न छन् ।
हाल जुम्लामा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, फुजी र गालाजस्ता जातका स्याउ उत्पादन भइरहेका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले नयाँ जात सिफारिस गरेसँगै भविष्यमा उत्पादन र गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशले देशको कुल स्याउ उत्पादनको करिब ४१ प्रतिशत योगदान दिने गर्छ ।