काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको वरिपरि सक्रिय रहेको छ। यसकै कारण आज बिहानदेखि कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ।
महाशाखाले दिएको विवरणअनुसार बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा परेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका पहाडी भागमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी तराई, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा पर्न सक्ने देखिएको छ।
आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा धेरै स्थान र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने उल्लेख छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रसँगै लुम्बिनी र कोशी तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम देखिएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।