रुकुम पश्चिम। मुसिकोट नगरपालिकाले मुख्य बजार क्षेत्रमा सडक मिचेर निर्माण भएका अस्थायी संरचना हटाउन थालेको छ ।
नगरपालिकाले सल्ले, खलंगा र सेरिगाउँ बजार क्षेत्रका मूल सडक छेउमा बनेका टहरा तथा अस्थायी संरचना भत्काउन अभियान अघि बढाएको हो ।
गत जेठ २१ गते नगर कार्यपालिकाको बैठकले नगरप्रमुख, उपप्रमुख र वडा नं. १२ का अध्यक्ष सदस्य रहेको समिति बनाएर स्थानीय प्रशासनसँग समन्वय गर्दै संरचना हटाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार साउन पहिलो साता सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र आफैं हटाउन निर्देशन दिइएको थियो । तर समयसीमा भित्रै हटाइने चेतावनी दिएपछि स्थानीयले आफ्नै पहलमा संरचना हटाउन थालेका छन् ।
हाललाई सडकको केन्द्रबाट ५ मिटर दायाँ–बायाँ रहेका अस्थायी संरचना हटाइँदैछ । तर स्थानीयले भने समान मापदण्ड नअपनाइएको गुनासो गरेका छन् । व्यावसायी भीमबहादुर पुनले भने, “हामीले त टहरा हटायौं, तर पक्की घरहरुले पनि बाटो मिचेका छन् । उनीहरुको के हुन्छ ? कानुन त सबैलाई बराबर हुनुपर्छ ।”
नगरपालिकाले भने यो केवल सुरुवात भएको बताउँदै छिट्टै मापदण्डभन्दा बाहिर रहेका पक्की संरचना पनि हटाइने स्पष्ट पारेको छ । नगर प्रमुख महेन्द्र केसीले, “यो सजिलो काम होइन, तर नगरी नहुने हो । अस्थायी मात्र होइन, स्थायी संरचनासमेत क्रमशः हटाइन्छ,” भनेर प्रतिबद्धता जनाएका छन् ।