हुम्ला। हुम्लाको ताँजाकोट–३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयको निर्माणाधीन भवन पहिरोले ठूलो क्षति पुर्याएको छ ।
शुक्रबार बेलुकी आएको पहिरोले भवनको पछाडिल्लो भाग प्रभावित बनाउँदा करिब २० लाख बराबरको नोक्सानी भएको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले जानकारी दिए ।
उनका अनुसार विद्यालय परिसरमा मेसिनरी वाल नहुँदा पटक–पटक यस्तो समस्या दोहोरिने गरेको छ । अझै पनि निरन्तर वर्षा भए भवन पूरै जोखिममा पर्ने चेतावनी उनले दिए । “यो विषयमा धेरैपटक पहल गरिए पनि कुनै तहबाट सुनुवाइ भएन,” उनले भने, “विद्यालय क्षेत्र नेताहरूको राजनीति गर्ने स्थल मात्र बनेको छ, विकासप्रति भने कोही गम्भीर छैनन् ।”
सो भवन प्रदेश सभा कोषमार्फत सामाजिक विकास कार्यालयले विनियोजन गरेको ९० लाख रुपैयाँको बजेटमा गत मङ्सिरदेखि निर्माण भइरहेको हो । निर्माण सुरु हुनुअघि नै ग्याबिन र मेसिनरी वाल बनाउन रकम माग गरिए पनि सहयोग नपाएको प्रधानाध्यापक जैसीको भनाइ छ ।
विद्यालयमा खेलमैदान, खानेपानी, शौचालय र घेरबारको समेत अभाव रहेको शिक्षक डबलबहादुर महताराले बताए । उनका अनुसार यहाँ सामान्य धारामा कक्षा १२ सम्म पठनपाठन हुने र प्राविधिक धारामा पशु विज्ञान विषयअन्तर्गत १८ महिनाको एलपीएएच कार्यक्रम सञ्चालनमा छ ।
धर्मोदय विद्यालय हुम्ला जिल्लामा विद्यार्थी सङ्ख्याका हिसाबले अग्रस्थानमा पर्ने विद्यालयहरूमध्ये एक हो । हाल यस विद्यालयमा झण्डै ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।