काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालले थप दुईतर्फ हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउने बताएका छन् ।
आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिए । “हामीले प्राप्त गर्नुपर्ने मार्गका विषयमा छलफल हुन्छ ।
अहिले केवल सिमराबाट मात्रै विमानहरू आवतजावत भइरहेका छन् । चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाई मार्ग विस्तारको विषयलाई महत्त्वका साथ उठाउनेछौँ,”– उनले भने ।
नेपालले पटक–पटक थप हवाईमार्ग विस्तार गर्नेबारे भारतीय पक्षसँग आग्रह गर्दै आएपनि सकारात्मक परिणाम हासिल हुन नसकेको पर्यटनमन्त्री पाण्डेले बताए । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारले विभिन्न छुट र सहुलियत दिएको उनले उल्लेख गरे । उनका अनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पास गरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ ।
भिसा सेन्टर, अध्यागमन कार्यालय स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन र स्वास्थय परीक्षणसम्बन्धी आवश्यक कार्यालय सुनिश्चित गर्ने, म्यानपावर कमपनीलाई आकर्षित गर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म फ्युल, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिए । श्रमका लागि विदेश जाने र नेपाल फर्किनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रिने वातावरण मिलाइने उनले प्रतिबद्धता व्यक्त गरे ।
पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई संसारभरिका बुद्ध धर्मालम्बीहरूको आकर्षणका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए । हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले प्रदेशहरूसँगको समन्वय र सहकार्यमा प्रादेशिक उडानका लागि ट्वीनअटर विमानको सङ्ख्या थपेर सेवालाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । “साना विमानको सङ्ख्या थपेर सरकारले सेवा प्रवाह गर्नेछ, त्यसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी नीति ल्याउनेछौँ,”– उनले भने ।
सरकारले सुर्खेत विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नत्ति गर्ने योजना रहेको उनले जानकारी दिए ।