सुर्खेत। नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बिहीबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले श्रीधर केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
अधिवेशनमार्फत उपाध्यक्षमा कम्मबहादुर अधिकारी, महिला उपाध्यक्षमा खगीसरा घर्ती, सचिवमा रमेश रायमाझी, कोषाध्यक्षमा शैलेन्द्र रेग्मी र सहसचिवमा विजय सुनार चयन भएका छन्।
संघको कार्यसमितिमा विविध क्षेत्रका व्यक्तित्वहरूको समावेशी प्रतिनिधित्व रहने गरी सदस्य पदमा नेत्रबहादुर चौधरी, जीवन ढकाल, राधा शाही, गणेश बुढा, गोविन्दबहादुर चन्द, डिला चपाई, जानकी विक, रोशन वली, पुष्पा खड्का, हर्कबहादुर सार्की, तिलक पुन, कुमार जिसी, हिक्मतबहादुर मल्ल र नन्दकला खत्री निर्वाचित भएका छन्।
कार्यक्रमको अध्यक्षता नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय प्रतिनिधि एवम् प्रदेश अध्यक्ष हरि विष्टले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस सुर्खेतका सभापति तथा कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल सहभागी थिए।
सो अवसरमा जिल्ला उपसभापति टोबहादुर रावत, जिल्ला सचिवद्वय देवकुमार सुवेदी र बालदीप कँडेल, सुर्खेत क्षेत्र नं. १ का क्षेत्रीय सभापति झकबहादुर डाँगी, नगरसभापति उपेन्द्रबहादुर खड्कालगायत कांग्रेसका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
सङ्घको नयाँ नेतृत्व चयनसँगै सुर्खेतमा लोकतान्त्रिक खेलकुदको सशक्त अभियान अघि बढ्ने अपेक्षा गरिएको छ। अधिवेशनमा वक्ताहरूले खेलकुदमार्फत समाजमा एकता, स्वस्थ जीवनशैली र सकारात्मक सोच विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
साथै, नयाँ कार्यसमितिले जिल्लास्तरीय खेलकुद गतिविधि प्रवर्द्धन गर्ने, युवा प्रतिभालाई प्रोत्साहन गर्ने र खेल क्षेत्रमा देखिएका चुनौती समाधान गर्न पहल गर्ने संकल्प समेत व्यक्त गरेको छ।