जुम्ला। जुम्लाका स्थानीय तहहरूले आन्तरिक स्रोतबाट राजस्व संकलनमा अपेक्षित प्रगति गर्न नसकेको पाइएको छ ।
एक नगरपालिका र सात गाउँपालिका रहेका जिल्लामा अधिकांश तहले आन्तरिक आय घट्दै गएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले देखाएको हो ।
तिला गाउँपालिकाले आव २०८०/८१ मा करिब १९ लाख ३६ हजार आन्तरिक स्रोतबाट आम्दानी गरेको छ । तर, सोही पालिकाले पदाधिकारी सुविधामै ८१ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, व्यवसाय कर संकलन गर्न कानुनमा व्यवस्था भए पनि तिलाले कुनै शीर्षकमा कर उठाउन सकेको छैन ।
सिंजा गाउँपालिकाले करिब २५ लाख ८५ हजार आम्दानी गरेको भए पनि बालुवा–गिट्टी तथा ढुंगाको बोलपत्र आह्वान गर्दा समेत राजस्व उठाउन नसकेको अध्यक्ष पूर्णप्रसाद धितालले बताए । तातोपानी गाउँपालिकाको कुल बजेटमध्ये आन्तरिक आम्दानीको हिस्सा ०.०५ प्रतिशत मात्र देखिएको छ ।
यस्तै, हिमा र गुठीचौर गाउँपालिकाले करिब १९–१९ लाख आन्तरिक राजस्व सङ्कलन गरेका छन् । गुठीचौरले पदाधिकारी सुविधामै ४६ लाखभन्दा बढी खर्च गरेको छ, जुन आन्तरिक आयको दुई सय ४० प्रतिशत बढी हो ।
कनकासुन्दरी गाउँपालिकाले २८ लाख ३६ हजार राजस्व उठाएको छ भने पातारासीले १६ लाख ५० हजारको लक्ष्य राखेर २३ लाखभन्दा बढी संकलन गरेको छ ।
जिल्लाको सबैभन्दा ठूलो चन्दननाथ नगरपालिकाले भने एक करोड ९९ लाख ९४ हजार आम्दानी गरेको छ, जसमा कर, सेवा शुल्क, व्यवसाय, सवारी, सम्पत्ति, घरजग्गा बहाल र नक्सापासजस्ता शीर्षकबाट राजस्व संकलन भएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार कानुनले नौ प्रकारका कर उठाउन सक्ने प्रावधान भए पनि जुम्लाका अधिकांश गाउँपालिका त्यसतर्फ उदासीन देखिएका छन् ।