सल्यान। जिल्लाका विभिन्न पालिकामा जंगली बँदेलको उत्पातका कारण किसानहरू गम्भीर समस्यामा परेका छन्। बथानमा गाउँ पस्ने बँदेलले यसपालि मात्र करिब तीन सय रोपनीभन्दा बढी मकैबाली नष्ट गरेको स्थानीयको भनाइ छ।
शारदा नगरपालिका–५ रानीकोट, ६ सापमारा, ७ ओखरेनी, बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला, ६ आमखोली, कुमाख गाउँपालिका–५ कालागाउँ, ६ बडागाउँ, छत्रेश्वरी गाउँपालिका–२ खोरबारे लगायतका क्षेत्रमा बालीमा ठूलो क्षति पुगेको हो। साथै, कपुर्कोट र कालिमाटी गाउँपालिकाका किसान पनि बँदेलको आक्रमणबाट प्रभावित भएका छन्।
छत्रेश्वरी–२ खोरबारेका किसान बालाराम ओलीका अनुसार, दुई रोपनीमा लगाइएको मकै बथानमै आएको बँदेलले एकै रातमै सखाप बनाइदिएको छ। “दिनभर पहरा दिए पनि रातभर रोक्न सकिँदैन, बिहान खेत उजाड देखिन्छ,” उनले भने।
बन्गाड कुपिण्डे–१२ निगालचुलाका वडाध्यक्ष लालबहादुर घर्तीका अनुसार, चौर र भदाले क्षेत्रमा मात्रै ३५ किसानको करिब ५० रोपनी मकैबाली पूर्ण रूपमा नष्ट भएको छ। बाली जोगाउन बँदेल लखेट्दा तीन किसान घाइतेसमेत भएका छन्।
कुमाख गाउँपालिकाकी कृषि शाखा अधिकृत सुसन गौतमले वडा नं. ५ र ६ मा ठूलो क्षति पुगेको जनाउँदै, क्षतिको विवरण संकलनका लागि प्राविधिक टोली पठाउन लागिएको बताइन्।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख तेकबहादुर रावलले जंगली जनावरबाट बाली नष्ट भएमा किसानलाई १० हजार रुपैयाँसम्म राहत दिने प्रावधान रहेको बताए। तर अहिलेसम्म शारदा–५ का तीन किसानले मात्र निवेदन दिएको उनको भनाइ छ।
मुख्य रूपमा मकै खेतीमा निर्भर किसानहरूको चार महिनाको जीविकोपार्जन संकटमा परेको छ। किसानहरू परिवार पाल्ने बाटो खोज्दै थप चिन्तित भएका छन्।