कालिकोट। नरहरिनाथ–७ माल्कोट रातीमाटास्थित शान्ति माध्यमिक विद्यालयको नयाँ दुई कोठे पक्की भवन पहिरोले भत्काएपछि विद्यालय पूर्ण रूपमा जोखिममा परेको छ।
गत असारमा निर्माण सम्पन्न भवन सोमबार बेलुकी विद्यालयमाथिबाट पहिरो खस्दा क्षतिग्रस्त भएको हो। प्रधानाध्यापक हरिचन्द्र बटालाका अनुसार भवनको पछाडिको भाग पूरै भत्किएको छ भने अगाडिको भाग चर्किएर बस्नै नमिल्ने भएको छ।
भवन प्रयोगमा ल्याएको दुई दिनमै पहिरोले ध्वस्त बनाएको उनले बताए। विद्यालयको खानेपानी, १० वटा डेस्कबेन्च, एक टेबल र ५०० लिटरको पानी ट्यांकी पनि नष्ट भएको छ।
भवन भत्किएपछि मंगलबार आकस्मिक बैठक बसेर पठनपाठन तत्कालका लागि रोक्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवीर बटालाले जानकारी दिए। उनका अनुसार माथिल्लो भागमा रहेको अर्को भवनले क्षति रोक्दा पहिरो विद्यालयको फिल्डसम्म नपुगेको भए पनि अझै खतरा यथावत छ।
स्थानीय नवीन बटालाले पहिरो झरेर हेर्दै गर्दा भवन भत्किएको बताएका छन्। यस्तै, स्थानीय पार्वती बटालाले प्रहरीलाई जानकारी गराइएको बताइन्।
शान्ति माविका लागि नरहरिनाथ गाउँपालिकाले गत वर्ष ५० लाखको बजेट विनियोजन गरेको थियो। ठेकेदार रतन सहकारीले ३४ लाख ३४ हजारमा निर्माण ठेक्का लिएर भवन बनाएको र पछि लागत बढेर ३८ लाख भुक्तानी पाएको जनाएको छ।
०४२ सालमा स्थापना भएको विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुने ४५० विद्यार्थी छन्। अभिभावक कार्यवाहक वडाध्यक्ष करबहादुर बटालाका अनुसार, बटाला, बुढा, सहकारी, विश्वकर्मा र दर्जी समुदायका बालबालिका त्यहाँ अध्ययन गर्छन्।