कालिकोट। भारत जाने योजनासहित घरबाट भागेका कालिकोटका चार बालक नेपालगञ्जमा भेटिएका छन् ।
महाबै गाउँपालिका–५ गेलाका सर्जन शाही, अर्जुन शाही, सन्दीप सुनार र सुर्खेत घर भई हाल गेलामै बस्दै आएका गोरे खड्का बिहीबार बेलुकी घरबाट भागेका थिए ।
उनीहरू कर्णाली राजमार्ग हुँदै मान्म पुगेपछि बाटो हुँदै बाँकेको नेपालगञ्ज पुगेका थिए । नेपालगञ्ज बसपार्क नजिकै रहेका होटल व्यवसायी प्रेमबहादुर शाहीले भेटेपछि उनीहरूको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । त्यसपछि आफन्तहरू सम्पर्कमा आएका हुन् ।
सबैको उमेर १३ वर्षको छ भने सुर्खेतका खड्का बाहेक तीन जना कालिका मावि गेलामा कक्षा ८ मा अध्ययनरत छन् । बालकहरूले पैसा कमाएर मोबाइल किन्न भारत जाने योजना बनाएको जानकारी शाहीले बताए ।
उनका अनुसार, घरबाट २४ हजार र १७ हजार रुपैयाँ लिएर भागेका दुई बालकले बाटोमा खानपिन र यातायातमा खर्च गर्दा ११ हजार सकिएको थियो भने अझै २१ हजार रुपैयाँसहित नेपालगञ्जमा भेटिएका थिए । सोमबार बिहानै दुई बालकलाई अभिभावकको जिम्मा लगाइएको र बाँकी दुईका आफन्त लिन नेपालगञ्ज आइरहेका छन् ।
हराइएका बालकको खोजीका लागि आफन्तहरूले प्रहरी चौकी पिली र जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी गरेका थिए । प्रहरी खोजी भइरहे पनि उनीहरू नेपालगञ्जमै भेटिएको अर्जुन शाहीका बुबा तुलाराज शाहीले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रकाश धितालका अनुसार, कर्णाली राजमार्ग हुँदै विद्यालय पढ्ने उमेरका बालबालिका भारततर्फ भाग्ने क्रम बढ्दै गएको छ, जसले बीचैमा पढाइ छाड्नेको संख्या बढाएको छ ।