काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माणका लागि मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ३६ लाख ४० हजार रुपैयाँ अनुदान उपलब्ध भएको थियो । जनश्रमदान तीन लाख ७३ हजार ४३९ जोड्दा कुल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो ।
तर, तोकिएअनुसार काम नगरी बढी काम भएको देखाइ ७ लाख ६ हजार ७९९ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ । सोही रकम बराबरको बिगो दाबी गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्लविरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तै, सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाईविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ ।
अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीविरुद्ध भने कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।