सुर्खेत। सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधिका मताङ्गीका अनुसार विरेन्द्रनगर–११ धुलियाविटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत बादी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।
मताङ्गीले भनिन्, “बादी समुदायका बालबालिकाले पनि समान अवसर पाउनुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम गरिएको हो। शिक्षा नै उनीहरूको भविष्य परिवर्तन गर्ने आधार बन्न सक्छ भन्ने हाम्रो विश्वास हो।”
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियामा मुख्य रूपमा बसोबास गर्ने बादी समुदाय अझै पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा पछाडि परिरहेको भन्दै उनले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
संस्थाका उपाध्यक्ष रेशम नेप्किङले शिक्षा र स्वास्थ्यमा पर्याप्त पहुँच नभएकै कारण सहयोग गरिएको र यसलाई निरन्तरता दिने जानकारी दिए।
परम्परागत रूपमा संगीत, नाचगान र वाद्यवादनमा दक्ष मानिने बादी समुदाय लामो समयसम्म सामाजिक विभेद र छुवाछूतको मारमा परेको थियो। अहिले धेरैजना कृषि, मजदुरी र स्वरोजगारमा संलग्न भए पनि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अझै पछि परिरहेका छन्।