सुर्खेत। गत वैशाखमा ४९ वर्षीय मुख्य मुखिया सूर्यनारायण शाहीको मृत्यु भएपछि लोपोन्मुख राउटे समुदायले नयाँ मुखिया छान्ने प्रक्रिया अघि बढाएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोलामा उनको निधन भएपछि परम्पराअनुसार बस्ती सारेर हाल लेकबेंसी नगरपालिका–१० झुप्राखोलामा बसोबास गरिरहेका छन्। कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउने यो समुदाय पछिल्ला वर्ष दैलेख र सुर्खेतका जंगलमा बस्दै आएको छ।
राउटे समाजमा मुखियाले काम बाँडफाँड, विवाद समाधान, एकता कायम गर्ने र बाह्य सम्पर्क गर्ने जिम्मेवारी वहन गर्छन्। सूर्यनारायणलाई २८ वर्षको उमेरमा तत्कालीन महामुखिया महिनबहादुर शाहीले नियुक्त गरेका थिए। महिनबहादुरको २०८० कात्तिकमा निधन भएपछि उनी मुख्य मुखियाको रूपमा अघि सरेका थिए। अहिले उनका भाइ शेरबहादुर शाहीलाई परीक्षणकालका रूपमा जिम्मेवारी दिइएको छ। असोजमा महिला र पुरुषको संयुक्त बैठकबाट अन्तिम निर्णय हुने छ।
समुदायमा २० वर्ष नाघेको, विवाहित र सकेसम्म बालबच्चा भएको पुरुषलाई मुखिया बनाउने परम्परा छ। महिलाले मुखिया नबने पनि निर्णयमा बराबरको भूमिका खेल्छन्। मुखिया चयन प्रक्रिया महिलाको र पुरुषको छुट्टाछुट्टै बैठक र अन्तिम संयुक्त बैठकमार्फत सम्पन्न हुन्छ। सहमतिपछि एकदेखि दुई महिना परीक्षणकाल राखिन्छ, त्यसपछि मात्र औपचारिक रूपमा जिम्मेवारी दिइन्छ।
राउटे समुदायमा हाल तीन जना मुखिया रहने प्रचलन छ, जसमा एक जना मुख्य मुखिया हुन्छन्। फरक थरका मुखिया राख्ने परम्परा २०७५ सालबाट परियोजना सञ्चालनसँगै शुरू भएको हो। हाल कल्याल थरमा पनि नयाँ मुखिया चयनको तयारी भइरहेको छ, जहाँ ६२ वर्षीय वीरबहादुर शाहीपछि प्रकाश शाहीलाई परीक्षणकालमा राखिएको छ।
काठका भाँडाकुँडा निर्माण, बाँदर सिकार र गाउँ–बजारमा मागेर जीविका चलाउने यो समुदायको मुख्य पेशा हो। बस्तीमा महिलाले छाप्रो बनाउने, धान कुट्ने र घरेलु कामकाज सम्हाल्ने गर्छन्। दशैंलगायत पर्वमा उनीहरू सरकारी तथा गैरसरकारी संस्थासम्म पुग्ने गर्छन्। सरकारले प्रत्येक सदस्यलाई मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। हाल राउटे समुदायको जनसंख्या १३६ रहेको छ।