सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न १३ स्थानीय तहमा गत वर्ष सञ्चालन गरेको विशेष स्वास्थ्य अभियानअन्तर्गत २२ हजार ७५१ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। यस परीक्षणमा हजारौँमा गम्भीर नसर्ने रोगको जोखिम देखिएको छ।
स्वास्थ्य परीक्षणका क्रममा २ हजार ५३६ जनामा पहिलोपटक उच्च रक्तचाप, १ हजार ४२८ जनामा मधुमेह, र ७९४ जनामा मिर्गौलासम्बन्धी प्रारम्भिक समस्या भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, यो अभियान सामाजिक विकास मन्त्रालय, जिल्ला जनस्वास्थ्य तथा स्थानीय तहहरूको संयुक्त पहलमा सञ्चालन भएको थियो। स्वास्थ्यकर्मीहरूले नागरिकको घरदैलोमै गएर परीक्षण र परामर्श सेवा उपलब्ध गराएका थिए।
परीक्षण भएका स्थानीय तहहरूमा हुम्लाको नाम्खा र खार्पुनाथ, मुगुको मुगुमकार्मारोङ, जुम्लाको पातारासी र कनकासुन्दरी, दैलेखको डुंगेश्वर र भगवती माई, सुर्खेतको गुर्भाकोट, सल्यानको कपुरकोट र कालिमाटी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, र जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिका समावेश छन्।
परीक्षणमा पहिचान भएका बिरामीहरूलाई नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा थप उपचार र नियमित परामर्शका लागि सिफारिस गरिएको छ। साथै, नसर्ने रोगहरूको रोकथामका लागि योग, ध्यानजस्ता कार्यक्रम जिल्ला सदरमुकामहरूमा पनि विस्तार गरिएको छ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, "शरीरलाई भित्री रुपमा कमजोर बनाउने ‘साइलेन्ट किलर’ भनिने रोगहरू समयमै पहिचान गरी उपचारको पहुँचमा ल्याउने र ठूला आर्थिक भारबाट बचाउने यो अभियानको मुख्य उद्देश्य हो।"
मन्त्री भण्डारीका अनुसार, आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै ७९ स्थानीय तहमा समन्वय गरी वडास्तरमा स्वास्थ्य परीक्षण नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको छ।
यो अभियानले कर्णाली प्रदेशमा बढ्दो स्वास्थ्य जोखिम समयमै पहिचान गर्न मद्दत गरेको र आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा विस्तार गर्ने तयारी भइरहेको भण्डारीले बताएका छन्।