हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित चरी गाउँमा अज्ञात रोगको प्रकोप फैलिएपछि ६० भन्दा बढी गाई, गोरु र बाच्छाबाच्छीको ज्यान गएको छ । पछिल्ला दुई सातादेखि फैलिएको अज्ञात रोगका कारण गाउँका किसानहरू गम्भीर समस्यामा परेका छन् ।
स्थानीय प्रमसिंह सिराका अनुसार चरीगाउँका लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा ६, धुन्देउमा ८, रातामाटामा ९ र लाङ्गोरमा ५ भन्दा बढी पशु मरेका छन् । रोगको लक्षणमा पेट र छाती सुनिनु, दिसा पिसाबमा रगत देखिनु, घाँस नखानु, र्याल छाड्नु र दिसा गर्न नसक्नु देखिएको छ ।
किसानहरूका अनुसार खेतबारी जोत्न एकजोडा गोरु पनि जोगाउन कठिन भएको छ । विशेष गरी अहिलेको समय लेखतिरको खर्कमा पशु लग्ने मौसम भएकाले अधिकांश पशु चरीगाउँ आसपासका जङ्गल क्षेत्रमा थिए, जहाँ मृत्यु भएको घटनाहरू व्यापक छन् ।
पशु मर्न थालेपछि खर्क आसपासको जंगलमा दुर्गन्ध फैलिएको छ । स्थानीयले पशुशाखामा जानकारी गराउँदा पनि औषधि उपलब्ध नभएको र स्वास्थ्यकर्मी समेत नपाइएको गुनासो गरेका छन् । सिराले हप्तादिनदेखि गाउँपालिकाको पशु शाखामा धाउँदा पनि कार्यालय सधैं बन्द भेटिएको र कुनै सहयोग नभएको बताए ।
न त औषधि प्राप्त भएको छ, न त पशु स्वास्थ्यकर्मीको उपस्थिति नै, जसका कारण अज्ञात रोगको उपचार सम्भव नभएको स्थानीयको गुनासो छ । चालु आर्थिक वर्षको सुरुदेखि नै पशुसेवा शाखाबाट कर्मचारी बाहिरिएपछि पशुचौपायाको उपचारमा गम्भीर समस्या देखिएको छ ।
यस घटनाले दुर्गम क्षेत्रमा पशु सेवा र संकट व्यवस्थापनको अवस्था कति कमजोर छ भन्ने कुरा पुनः उजागर गरेको छ ।