सुर्खेत : लगातार परेको वर्षाले गर्दा सुर्खेत पश्चिमका नागरिकलाई सास्ती भएको छ । सुर्खेतको कर्णाली मानिने पश्चिम क्षेत्रका नागरिकलाई वर्षाले गर्दा कच्ची बाटो बिग्रेपछि सास्ती थपिएको हो ।
अहिले धेरैजसो नागरिक घरबाट बाहिर जाँदा र घर फर्किन निकै कठिनाई भोग्नु परिरहेको छ । पश्चिम सुर्खेतका घाटगाउँ, तातोपानी, बिजौरा, लगाम, बेतान लगायतका बासिन्दालाई वर्षाले गर्दा सास्ती थपिएको हो ।
कच्ची बाटोका कारण पश्चिम सुर्खेतबाट सदरमुकाम सुर्खेत जाने नागरिकलाई सास्ती भएको हो । यस्तै पश्चिम सुर्खेतबाट कैलाली चिसापानी, लम्की, धनगढी तथा नेपालगञ्ज जाने यात्रुलाई पनि कठिनाई छ ।
वर्षौदेखि कच्ची र ग्राभेलकै भरमा चलिरहेका सडक भारी वर्षा हुँदा हिलाम्मे हुने गरेको छ भने केही ठाउँमा पहिरो जाने र खोला बढ्ने समस्या पनि छ । एक दशकदेखि बड्डीचौरदेखि लगाम बेतानसम्म ट्रयाक खोल्ने र पीच गर्ने नारा नेताहरुले लगाउने गरेको भएपनि बाटो पीच भएको छैन । पछिल्लो तीन वर्षदेखि यो सडक पीच हुने क्रममा छ । तर सुस्त र ढिलासुस्तीले गर्दा यात्रुले अनेक मार खेप्नु परेको छ ।
यस्तै कुईने र चिसापानी सडक पनि वर्षाका कारण ठाउँ ठाउँमा भत्केको छ । केही ठाउँमा खोला बढ्ने र भीरमाथिबाट पहिरो जाँदा समस्या भएको छ । वर्षौदेखि सुर्खेत र कैलालीका नेताहरुले यो सडक पीच गर्ने आश्वासन देखाएपनि अझै तीव्र गतिमा काम हुन सकेको छैन । जसकारण हरेक वर्षामा सुर्खेत तथा कैलालीका विकट क्षेत्रका नागरिकले सास्ती खेपिरहनु परेको छ ।
वर्षाका कारण बाटो बिग्रेर कठिनाई भएपछि सुर्खेतको चौकुने गाउँपालिकाले अत्यावश्यक बाहेक टाढाको यात्रा नगर्न आग्रह गरेको छ । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले वर्षाले ठाउँ ठाउँमा बाटो बिग्रेका कारण टाढाको यात्रा नगर्न र गर्नैपरे विशेष ध्यान दिन आग्रह गरेका हुन् । उनका अनुसार अहिले बिग्रे भत्केको ठाउँमा पहिरो पन्छाएर बाटो खुलाउने काम भइरहेको छ ।