कालिकोट। साउन २२ गते बडिमालिकामा हुने विशेष पूजाका लागि तीर्थयात्रीहरूको घुइँचो लाग्ने पूर्वानुमान गर्दै कालिकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको स्वास्थ्य टोली बडिमालिका क्षेत्रतर्फ खटाएको छ।
हिन्दू परम्पराअनुसार भाद्र शुक्ल चतुर्दशीका दिन विशेष पूजाआराधना हुने बडिमालिकामा देशभरिबाट श्रद्धालुहरू पुग्ने गरेका छन्। यसवर्ष पनि हजारौं भक्तजन दर्शनका लागि जाँदैछन्। तीर्थयात्रीहरूलाई लेक लाग्ने, दम बढ्ने, थकानलगायत आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने भएकाले नगरपालिकाले प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
रास्कोट नगर प्रमुख धर्मराज शाहीका अनुसार, रास्कोट नगर अस्पतालका चिकित्सक डा. कमलप्रसाद बराल, जनकराज न्यौपाने, नागराज बरालसहितको टोलीलाई आवश्यक औषधि र उपकरणसहित आइतबार बडिमालिका पठाइएको हो। तीर्थयात्राको मुख्य मार्ग रास्कोट हुँदै भएकोले एक हजार ५०० भन्दा बढी श्रद्धालु यही बाटो प्रयोग गर्दै बडिमालिकातर्फ गएका छन्।
बडिमालिका पुग्न रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाबाट छुट्टाछुट्टै बाटो प्रयोग गर्न सकिन्छ। नगर प्रमुख शाहीका अनुसार, विगतका वर्षमा श्रद्धालुहरूमा लेक लाग्ने र अन्य स्वास्थ्य समस्या देखिएकोले यसपटक पहिल्यैदेखि तयारी गरिएको हो।
बडिमालिका तीर्थक्षेत्रमा श्रद्धा, भक्ति र सुरक्षा सुनिश्चित गर्न गरिएको यो पहल तीर्थयात्रीहरूका लागि राहतको विषय बनेको छ।