हुम्ला। सिमकोट गाउँपालिका–७ स्थित थाया गाउँमा मौरीमा अज्ञात रोग देखा परेपछि मौरी मर्न थालेका छन्। व्यावसायिक मौरीपालन गर्दै आएका किसानहरू यस समस्याबाट गम्भीर रूपमा प्रभावित भएका छन्।
स्थानीय किसान भैरे सिंह र वीरबहादुर सिंहलगायतका मौरीघारहरूमा एक साता अघिदेखि मौरीहरू मर्न थालेका छन्। मह उत्पादनको मुख्य सिजनमा मौरीको अकाल मृत्यु हुन थालेपछि उनीहरू चिन्तित बनेका हुन्। वीरबहादुर सिंहले आफ्नो तीन घार र भैरे सिंहको एउटा घारमा मौरी मरेको जानकारी दिए।
"वनबाट मौरी फूल ल्याएर मह उत्पादन गर्ने बेला हो, तर यसै बेला मौरी मर्न थालेका छन्। रोग के हो भन्ने पत्तो छैन," वीरबहादुर सिंहले बताए।
मौरीघारभित्र र बाहिर दुवै स्थानमा मौरी मर्न थालेपछि किसानहरूले रोगको पहिचान गरी समाधान खोजिदिन सम्बन्धित निकायसँग माग गरेका छन्। उत्पादन घट्न थालेपछि मौरीपालन व्यवसाय नै संकटमा परेको उनीहरूको भनाइ छ।
समस्या केवल थाया गाउँसम्म सीमित नरही जिल्लाका अन्य क्षेत्रका मौरीपालकहरूमा पनि देखिएको किसानहरूको भनाइ छ। किसानहरूले मौरी मर्नुका पछाडि विषादीको प्रयोग, जंगलमा डढेलो, गुणस्तरीय रानीको अभाव, मौसमी घार सुधार नहुनुजस्ता कारण हुनसक्ने आशंका गरेका छन्।
पशु अस्पताल तथा पशुसेवा कार्यालय, हुम्लाका प्रमुख नवीन पौडेलका अनुसार अज्ञात रोगको सूचना आएलगत्तै कर्मचारी टोली गाउँमा पठाइएको छ। हालसम्म रोगको पहिचान नभएको बताउँदै उनले विज्ञ टोली खटाइने बताए।
महको एक माना मूल्य हाल रु १,२०० रहेको हुम्लामा मौरीपालन किसानहरूको मुख्य आम्दानीको स्रोत हो। मौरी मर्न थालेपछि अधिकांश किसानको जीविकोपार्जन संकटमा पर्ने अवस्था देखिएको छ।
किसानहरूले सम्बन्धित निकाय र सरकारका तीनै तहबाट सहयोगको अपेक्षा गरेका छन्, ताकि मौरीपालन व्यवसाय जोगाउन सकियोस् र गाउँको अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सकियोस्।