कालिकोट। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ हाउडीस्थित एक घरमा बिहीबार राति भयावह आगलागी हुँदा चार परिवारको साझा घर पूर्णरूपमा नष्ट भएको छ।
आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। राति १२ बजेतिर विद्युत् सर्ट भएर कपडाबाट सुरु भएको आगो काठ हुँदै पुरै घरमा सल्किएको थियो। स्थानीय रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाही बसोबास गर्ने नौ कोठे काठेघर आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको हो।
प्रहरीका अनुसार मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए। आगो लाग्दाखेरि घरभित्र रहेका खडकबहादुर शाही, उनकी भाउजू लाटी शाही, छोरा रमेश शाही र नरेन्द्र शाहीका परिवारका सदस्यहरू सुरक्षित रूपमा निस्कन सफल भएका थिए। घरमा रहेका अन्य सदस्यहरू भने गोठसहित लेकमा गएका कारण घटनाको बेला घरमा थिएनन्।
पीडितहरूले प्रहरीलाई दिएको विवरण अनुसार कुल क्षति करिब ३० लाख रुपैयाँ बराबरको छ। जसमध्ये नगद ६ लाख ५० हजार, ९ तोला सुन (झन्डै १४ लाख), १५ तोला चाँदी (५० हजार), अन्नपात (२ लाख), लत्ता कपडा (३ लाख), भाँडाकुँडा (३ लाख) र काठ (१ लाख) जलेर नष्ट भएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली राति नै घटनास्थल पुगे पनि आगो नियन्त्रणमा लिन भने शुक्रबार बिहान स्थानीयको सहयोगपछि मात्र सफल भएको प्रहरी कार्यालयका सूचना अधिकारी भीरबहादुर सुनारले जानकारी दिए।
शुभकालिका–६ का वडाध्यक्ष दीपबहादुर शाहीका अनुसार आगलागीपछि प्रभावित १५ जनालाई तत्काल आफ्नो घरमा बसोबासको व्यवस्था गरिएको छ। उनले पीडितलाई राहत र पुनःस्थापनाका लागि पहल भइरहेको बताए।
स्थानीय प्रशासनले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ भने आगलागी नियन्त्रण र क्षतिको मुल्यांकनका लागि थप प्रयास भइरहेको जानकारी दिएको छ।