हुम्ला। चङ्खेली गाउँपालिका–६ मा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण ३० भन्दा बढी पशुवस्तुको ज्यान गएको छ। रामालेख खडिन्याखाडा खर्कमा चरनका लागि लगिएका गाई, गोरु, भैँसी र कुकुरजस्ता घरेलु जनावर मृत फेला परेका हुन्c
स्थानीय हरिबहादुर शाहीका अनुसार साउन ८ गतेदेखि सुरु भएको रोगले एक भैँसी, एक कुकुर, ६ दुहुना गाई, अन्य ९ गाई तथा १४ भन्दा धेरै गोरु मरेका छन्। "पशुहरूमा पेट र छाती सुन्निने, दिसा रोकिने, घाँस नखाने, र्याल बग्ने लक्षण देखिएको छ," शाहीले बताए।
सामान्यतया पशुहरू जङ्गलतिरका खर्कमा रहेका कारण यकिन विवरण आउन बाँकी रहेको र अझै पनि केही गाईगोरु थला परेका छन्। एउटी भैँसीको अवस्था गम्भीर रहेकाले पालमा राखिएको छ भने जङ्गल क्षेत्र दुर्गन्धित हुन थालेको छ।
यस अज्ञात रोगले स्थानीय कृषकहरूलाई ठूलो क्षति पुर्याएको छ। खर्क क्षेत्रको सीमाना मात्रै नभई अन्य गाउँका खर्कमा समेत १०० भन्दा बढी पशुवस्तु बिरामी परेका स्थानीयहरूको भनाइ छ।
गाउँपालिकाको पशु शाखामा सहायता माग्दा पनि पशु स्वास्थ्यकर्मीको अभावले समस्या समाधानमा ढिलाइ भएको जनाइएको छ।
स्थानीय स्तरमा वर्षायामको रोगबाट जोगाउन, घाँस संकलन र बर्खेबालीको सुरक्षा गर्न खर्कमा पशु लैजाने परम्परा छ। तर, हाल फैलिएको अज्ञात महामारीले यो अभ्यास जोखिमपूर्ण बन्न थालेको छ।
सरकारी निकाय र पशु स्वास्थ्य क्षेत्रले यथाशीघ्र ध्यान नदिए क्षति अझ गहिरिने स्थानीयको चिन्ता छ।