सुर्खेत। सुदूरपश्चिम प्रदेशको बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको पूजाका लागि जुम्लाबाट परम्परागत सरकारी टोली मंगलबार प्रस्थान गरेको छ।
नाग पञ्चमीको अवसरमा बर्सेनि हुने बडिमालिका भगवतीको विशेष पूजाका लागि जुम्लाबाट पूजासामग्रीसहित सरकारी प्रतिनिधिमण्डल मन्दिरतर्फ लागेको हो।
टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतले गरेका छन्। टोलीले बडिमालिका भगवतीको पूजापछि कृष्णजन्माष्टमीका दिन फर्कने कार्यक्रम छ।
बडिमालिका पूजाका लागि जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, चाँदीको कांगियो, बिनायो, मुरली, र छत्र सहित ५ थान विशेष पूजासामग्री झोलामा राखेर पठाइएको छ। त्यस्तै, भक्तजनहरूले पनि बरपूर्तिको लागि मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा, तोरण, र अन्य प्रसाद पठाएका छन्।
टोलीलाई नेपाली सेना, नेपाल प्रहरी, तथा विभिन्न सरकारी र गैरसरकारी कार्यालय प्रमुखहरूसहित सर्वसाधारणले पञ्चेबाजाको साथमा फूलमाला र अबिरले बिदाइ गरेका थिए।
परम्पराअनुसार, नाग पञ्चमीका दिन हरेक वर्ष जुम्लाको सरकारी टोली बडिमालिकाको पूजाका लागि प्रस्थान गर्ने चलन छ। तत्कालीन जुम्ला र डोटी राज्यद्वारा सुरु गरिएको यस परम्पराअनुसार बाजुरा, अछाम, बझाङ, र डोटी जिल्लाबाट पनि डोला बोकेर बडिमालिका जाने चलन यथावत् रहेको छ।
नेपाली सेनाको एउटा टुकडीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकालाई सलामी अर्पण गर्दै ब्यान्डबाजा, बिगुल र डोलीसहितको टोलीलाई भव्य बिदाइ गरिएको थियो।
यो संयुक्त पूजाले सुदूरपश्चिम क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई अझ गहिरो बनाउँदै आएको छ।