रुकुम पश्चिम। ठूलीभेरी नदीमा भएको टिपर दुर्घटनामा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।
गत मंगलबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, पीपलचौरमा ठूलीभेरी नदीमा खसेको टिपर दुर्घटनामा बेपत्ता भएका तीनै जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश बिष्टले जानकारी दिए।
मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–८, स्यालपाखका २० वर्षीय हरि बिक छन्।
तीनै जनाको शव सुरखेतको विभिन्न स्थानबाट भेटिएको हो। जेसिबी अपरेटरका रूपमा कार्यरत धनवीर बिकको शव आइतबार साँझ सुरखेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा फेला परेको हो। उनको शव दाजुले सोमबार पहिचान गरेका हुन्।
त्यसअघि चालक मनिराम चौधरी र जेसिबी सहयोगी हरि बिकको शव सुरखेतको भेरीगंगा नगरपालिका–२ स्थित भेरी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।
दुर्घटना गत साउन ६ गते साँझ भएको हो। ‘यति बिल्डर्स प्रालि’को नाममा दर्ता भएको रा १ ख १५०१ नम्बरको टिपर चिसापानी (वडा ११) बाट चेपारे (वडा १४) तर्फ जाँदै गर्दा भेरी करिडोर सडकबाट तल खसेर ठूलीभेरी नदीमा पल्टिएको थियो। सो टिपरमा रहेका तीनै जना एकैपटक बेपत्ता भएका थिए।
दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल जाजरकोटकाे भेगमा टिपरको अगाडिको भाग बुधबार फेला परेको प्रहरीले जनाएको छ।