जुम्ला। जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजार नजिक तिला नदीमा बगिरहेको अवस्थामा भेटिएको रतुवा (प्याङ्ग्रा जातको जंगली जनावर) लाई स्थानीयले सकुशल उद्धार गरेका छन्।
स्थानीय मुनप्रसाद भट्टराई, सन्तवीर सार्की र नरेन्द्र सार्कीले नदीमा बगिरहेको अवस्थामा देखेर रतुवालाई उद्धार गरी प्रहरी चौकी कुडारीमा बुझाएका थिए।
प्रहरीले रतुवा बुझ्नेबित्तिकै तातोपानी डिभिजन वन कार्यालयलाई खबर गरेको थियो। त्यसपछि प्रहरी, वन कार्यालयका अधिकारी र तिला–३ का जनप्रतिनिधिको रोहवरमा रतुवाको औपचारिक उद्धार प्रक्रिया पूरा गरिएको हो।
तातोपानी सब-डिभिजन वन कार्यालयका प्रतिनिधि रवीन्द्र अधिकारीका अनुसार रतुवा पूर्ण रूपमा सकुशल अवस्थामा भेटिएको हो। “मुखमा सामान्य घाउ देखिए पनि स्वास्थ्यमा कुनै गम्भीर असर देखिएन,” अधिकारीले बताए।
स्वास्थ्य परीक्षणपछि रतुवालाई तिला–३ को द्यार खड्का पातल सामुदायिक वन क्षेत्रमा पुनः छोडिएको हो।
उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँले घेरिएको सुरक्षित प्राकृतिक क्षेत्र हो।
पछिल्लो समय जंगली जनावरहरू बस्तीतिर आउन थालेको हुँदा उद्धार र व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। यस्ता प्रयासहरूले वन्यजन्तु संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।