जुम्ला। तातोपानी गाउँपालिकाले किसानलाई वितरण गरेको गँड्यौंला मलमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि किसानहरू आक्रोशित भएका छन्।
रातो माटोजस्तो देखिने मल पाउँदा किसानहरूमा शंका उत्पन्न भएको हो। गत आर्थिक वर्षदेखि उपाध्यक्ष कार्यक्रम अन्तर्गत चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीले मल उपलब्ध गराएको थियो। तर, लामो समयसम्म स्टोर गरिएको मल वितरण गर्दा गुणस्तरमा कमी आएको स्थानीयहरूले बताएका छन्।
कम्पनीका जुम्ला सम्पर्क व्यक्ति भैरव कठायतले बताए अनुसार, मल साउन ७ गतेदेखि वितरण सुरु भएको थियो र मल दुई वर्षदेखि गाउँपालिका कार्यालय नजिकै राखिएको थियो। कम्पनीका सञ्चालक नरेन्द्र गिरीले भने, “लामो समय स्टोर गरिएकाले मलमा हावा र पानी प्रवेश गरेको हुनसक्छ, जसले मलको गुणस्तरमा असर पारेको हो। तर मल मूलतः गुणस्तरहीन होइन।”
गाउँपालिकाले ३५५ बोरा मल खरिद गरी किसानलाई वितरण गरेको थियो। खरिदका लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी गरिएको छ। तर मलको बोरा फुटेको र गुणस्तरमा प्रश्न उठेकोले गाउँपालिकाले मलको परीक्षण गर्न प्रयोगशालामा पठाएको छ। परीक्षणमा गुणस्तरहीन देखिए कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ भन्ने जानकारी अध्यक्ष नन्दप्रसाद चौलागाईंले दिएका छन्।
यसैबीच, माओवादी तातोपानी गाउँ कमिटीले पनि गुणस्तरहीन मल वितरण विषयमा छानबिन गरी खरिद प्रक्रियामा संलग्न व्यक्ति र कम्पनीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। माओवादी अध्यक्ष जक्तिप्रसाद न्यौपानेले भने, “मलको गुणस्तरबारे छानबिन आवश्यक छ र दोषीलाई कानुनी कारबाही हुनुपर्छ।”
किसानहरू भने गुणस्तरीय मल पाए कृषि उत्पादनमा सहजता हुने आशा राखेका छन् र गुणस्तरहीन मल वितरणले ठूलो समस्या निम्त्याएको बताइरहेका छन्।