जुम्ला। कर्णाली राजमार्गको जुम्ला खण्डमा गरिएको कालोपत्रे (पीच) कामको गुणस्तरमा गम्भीर प्रश्न उठ्दै गएको छ।
चन्दननाथ नगरपालिका–८ का श्री सुनारले जिल्ला ट्राफिक कार्यालय नजिकैको सडकमा हातैले पीच उप्काएपछि सार्वजनिक आक्रोश चुलिएको हो।
सुनारका अनुसार एक साता अघिदेखि उनलाई सडकको सतहप्रति शंका लागिरहेको थियो। बुधबार निरन्तरको वर्षाबीच परीक्षणका रूपमा उनले हातले पीच निकाल्ने प्रयास गर्दा सजिलै एक मिटरभन्दा लामो भाग उप्किएको देखिएको थियो। उनका अनुसार विकासको नाममा ठगी भइरहेको छ भने सरकार रमिते बनेको छ।
"बच्चाहरू हिँड्ने सडकको यस्तो हालतमा समृद्धि कसरी सम्भव हुन्छ?" उनले आक्रोश पोख्दै भने, "हातैले उप्किने पीच त विकास होइन, विनाश हो।"
स्थानीय चक्रबहादुर थापाले २०० टन क्षमताको रोलर प्रयोग गरेर गरिएको कालोपत्रे स्थानीयको हातले सहजै उप्किनु लाजमर्दो भएको बताए। यो विषयमा सामाजिक सञ्जालमा भाइरल भिडियोहरूपछि स्थानीय राजनीतिक दल पनि सक्रिय भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका संयोजक मक्करबहादुर भण्डारीले सडकको गुणस्तरप्रति गम्भीर प्रश्न उठाउँदै सत्यतथ्य छानबिनको माग गरेका छन्। निर्माण कम्पनी उज्ज्वल सानदार जेभीले भने पहिलेको पुरानो पीच उप्किएको दाबी गर्दै बाँकी भाग उप्काएर मापदण्ड अनुसार पुनः कालोपत्रे गरिने प्रतिबद्धता जनाएको छ।
सांसद ज्ञानेन्द्र शाहीले कार्यको गुणस्तर परीक्षण नगरी ठेकेदारलाई भुक्तानी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै दोषी ठेकेदार र सरोकारवालाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।
ठेकेदार दीपक न्यौपानेले पुरानो लेयर हटाउन बाँकी भएकाले पीच उप्किएको बताए। उनले गल्ती स्वीकार्दै कार्यालयसँग समन्वय गरेर सम्पूर्ण लेयर हटाई नयाँ पीच गर्ने प्रतिबद्धता जनाएका छन्।