कालीकोट। कालीकोट जिल्लाको मनमोहक पचालझरना अब नेपाल सरकारले पर्यटकीय गन्तव्यका रूपमा औपचारिक मान्यता दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि चयन गरेका १०० प्रमुख गन्तव्यहरूमध्ये पचालझरना रहेको कालीकोट ६४ औं स्थानमा परेको हो।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा बनाइएको सूचना प्रविधि–मैत्री क्यूआर कोडसमेत गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। यस कोडको प्रयोगबाट आन्तरिक तथा बाह्य पर्यटकले सहजै सूचना प्राप्त गर्न सक्नेछन्। उपाध्यक्ष अल्किना बमले क्यूआर कोडसहितको फ्रेम ग्रहण गर्दै यसको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
पचालझरना खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका सिमानामा पर्छ। चुलीमालिकाको छेउबाट मूल फुटेर बग्ने यो झरना कर्णाली करिडोरको लाफागाडबाट झन्डै एक घण्टा सवारी र तीन घण्टा पैदल हिँडेर पुगिन्छ। समुद्री सतहबाट ९७० मिटर उचाइमा अवस्थित झरनाको लम्बाइ ३८१ मिटर छ, जुन नेपालकै सबभन्दा अग्लो झरना मानिएको छ। प्राविधिक सर्वेक्षण अनुसार, केही ठाउँमा पानीको लम्बाइ थोरै ठोकिँदा कुल उचाइ ४१५ मिटरसम्म पुग्ने अनुमान गरिएको छ।
स्थानीय प्रधानाध्यापक तुलाराज कठायतका अनुसार झरना वरपर डाँफे, कालिज, घोरल, कस्तुरी, बनेल, भालुजस्ता जैविक सम्पदाको पनि उपस्थिति छ। पर्यटकलाई खान बस्नका लागि नजिकको खार्दु गाउँमा पाँचवटा होमस्टे सञ्चालनमा छन्।
पूर्व संरचनामा बदालकोटका पाँच गाविसहरू मिलाएर बनेको पचालझरना गाउँपालिकाले झरनाको नामबाट नै नामकरण गरेको हो। २०७५ वैशाख ३ गते पालिकाले झरनाको प्रवर्द्धनका लागि महोत्सवसमेत आयोजना गरेको थियो।
पचालझरनासम्मको सडक, सूचना केन्द्र, र पैदल मार्ग निर्माणमा १२ करोड रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ। कर्णाली करिडोर खुलेपछि भारतको रूपैडिया हुँदै मानसरोवर जाने पर्यटकलाई आकर्षण गर्ने सम्भावना देखिएको पालिका अध्यक्ष देवजंग शाहीले बताए। उनले अझै व्यवस्थित होटल, पक्की सडकलगायत पूर्वाधार आवश्यक रहेको र पर्यटन बोर्डसँगको सहकार्यमा थप योजना कार्यान्वयन गर्ने बताए।